मनमैजु हत्याकाण्डका नाइके दोर्जे शेर्पा कोरोना पोजेटिभ !
मनमैजु हत्याकाण्डका नाइकेलाई कोरोना संक्रमण पुष्टि भएको छ । साउन ३० गते लक्ष्मण रिमाल तामाङको हत्यामा संलग्न रहेका आरोपी दोर्जे शेर्पामा कोभिड–१९ संक्रमण देखिएको प्रहरीले जनाएको छ । शेर्पाको कारवाहीमा खटिएका सुरक्षाकर्मी समेत हाल होम आइसोलेसन रहेका प्रहरीले जानकारी दिएको छ ।
आरोपित पक्राउ गर्ने, बयान लिने र सम्पर्कमा रहेका सुरक्षाकर्मी आइसोलेसनमा राखिएको हो । प्रहरीले कोभिड–१९ को संक्रमण सुरू भएयता हिरासतमा लिने व्यक्तिको परिक्षण अनिवार्य गरेको छ ।
यसरी भएको थियो लक्ष्मणको हत्या
साउन ३० गते मनमैजुस्थित सुमन गोर्खा खाजा घरमा दोलखाका दोर्जे शेर्पासहितका युवा–युवती चिया पिउँदै थिए । केहीबेरमा नुवाकोट घर भएका लक्ष्मण तामाङको समूह त्यहाँ पुगेका थिए । एकैछिनमा दुई पक्षबीच विवाद भयो । दोर्जे समूहले छुराले हानेर २४ वर्षीय लक्ष्मणको हत्या गरेका थिए ।
उनीहरुबिच अघिल्लो दिन पनि सामान्य विवाद भएको थियो । दुईपक्ष झडप हुँदा खाजाघरबाट लखेट्दै मितेरी पुलमा लगेर लक्ष्मणलाई छुरा हानेर शेर्पाले हत्या गरेका थिए । हत्यामा संलग्न रहेका मुख्य आरोपी शेर्पालाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।