हतियार र लागुऔषध कारोबारका मुख्य नाइके ‘बग्गा’ पक्राउ !


हतियार र लागुऔषध कारेबारका मुख्या नाइकेलाई प्रहरीले पक्राउ गरेको छ । मोरङले भारत बिहारका ‘बग्गा’ भनिने ३९ वर्षीय प्रदीप यादवलाई शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

नेपाल प्रहरीले निकै लामो समयदेखि बग्गालाई खोजी गरिरहेको थियो । उनी भारतमा बसेर नेपालमा हातहतियार र लागुऔषधको कारोबार गर्ने गरेको प्रहरीले बताएको छ ।

विराटनगर महानगरपालिका–१६ दरैया नाकामा लागुऔषधसहित यादवलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए । यादवको साथबाट १५ बोतल डाइलेक्स डिसी, ५० चक्की नाट्रोसन र ५१ चक्कली नाइट्राभेट बरामद भएको खड्काले बताए । उनी विराटनगर सीमा कटेर नेपालतर्फ आई कारोबार गर्दै छन् भन्ने सूचनाका आधारमा प्रहरीको टोलीले पक्राउ गरेको हो ।

‘उनी नेपालमा आपराधिक कार्य गर्ने गिरोहका मुख्य नाइके रहेको खुल्न आएको छ,’ खड्काले भने । प्रहरीका अनुसार उनीविरूद्ध नेपालमा हातहतियार, खरखजना तथा लागुऔषध मुद्दा विचाराधीन छ । विशेषगरी १ नम्बर र २ नम्बर प्रदेशका जिल्लामा अवैध रुपमा हातहतियार र लागूऔषधको कारोबारको सञ्जाल विस्तारमा उनको संलग्नता रहेको प्रहरीले जनाएको छ । यादवलाई अदालतबाट हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान थालिएको खड्काले बताए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?