क्यानडा पठाइदिने भनी २१ लाख ठग्ने पक्राउ !


काठमाडौँ । प्रहरीले क्यानडा पठाइदिने भनी २१ लाख ठगी गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले आफु प्रभावशाली व्यक्ति भएको र क्यानडा पठाउन सक्ने भन्दै २१ लाख ठगी गर्ने सुर्खेतका २९ वर्षीय धु्रब थापा, २४ वर्षीय सन्ध्या थापा र सुनसरीका ४६ वर्षीय राजेन्द्रकुमार श्रेष्ठलाई आज दिउँसो धापासीबाट पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापाले मोरङ शनिश्चरे घर भई कपन सरस्वतीनगर बस्दै आएका नारायण खड्कालाई क्यानडा पठाईदिन्छु भनी २१ लाख ठगी गरेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रारम्भिक रुपमा खड्कासँग २१ लाख ठगेपनि उनीहरुले धेरै व्यक्तिलाई ठगेको हुनसक्ने प्रहरीले जनाएको छ । पक्राउ तीनैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आजै महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?