बार्सिलोनाबाट बिदा हुन लागेका मेसी भित्र्याउन सक्ने युरोपका ३ क्लब


एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका स्टार स्ट्राइकर मेसीले आँफु क्लबबाट बाहिरिन लागेको जानकारी दिएका छन् । स्पेनिस पत्रिका तथा मिडियाका अनुसार मेसीले फ्याक्सका माध्यमबाट क्लबलाई सो जानकारी गराएका हुन् ।

मेसीले आँफु क्लबबाट बाहिरिन लागेको जानकारी क्लबले पाएको बार्सिलोनाले उल्लेख गरेको छ ।

२०१७ मा मेसी र बार्सिलोना बीच एउटा सम्झाैता भएको थियो । सो सम्झाैता अनुसार मेसी २०२१ जुन ३० तारिखसम्म क्लबमै रहनेछन् । तर, पछिल्लो समय क्लबको व्यवस्थापनमा कमजोरी भएको बताउँदै सो सम्झाैता रद्द गर्न र क्लबबाट आँफु बाहिरिनका लागि सहज अवस्था गरिदिन क्लबलाई जानकारी गराएका हुन् ।

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत क्वाटर फाइनलमा जर्मनको बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हारपछि मेसीले क्लब छाड्ने बनशाय बनाएका छन् ।

कीर्तिमानी ६ पटकका ब्यालोन डे’अर विजेता मेसीले २००४ मा बार्सिलोनाबाट युरोपियन फुटबलमा डेब्यु गरेका थिए । बार्सिलोनालाई १० पटक ला लिगा जिताउन मेसीको ठूलो भूमिका रहेको छ । बार्सिलोनाबाटै मेसीले चार पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि पनि चुमेका छन् ।

मेसीका पूर्व सहकर्मी कार्लस प्युयोलले पनि मेसीको निर्णयलाई स्वागत र सम्मान गरेको भन्दै ट्वीट गरेका छन् ।

यता मेसीले बार्सिलोना छाड्रन चाहेको पुष्टि भएसँगै अब मेसीको गन्तव्य कता हुने हो भन्ने चर्चा सुरू भइसकेको छ । त्यसो त, इटालियन, इंग्लिस र फ्रेन्च क्लब मेसी भित्र्याउन तयार भएका खबर पनि बाहिरिरहेका छन् ।

अन्तर्राष्ट्रिय मिडियमा प्रकाशित समाचार अनुसार मेसीको प्रमुख गन्तव्यको रूपमा ३ क्लब रहेका छन् ।

१. म्यानचेस्टर सिटी

इंग्लिस क्लब म्यानचेस्टर सिटी केही वर्ष पहिलेदेखि नै मेसी भित्र्याउन लागि परिरहेको थियो । तर, मेसी बार्सिलोना छाडेर अन्यत्र जाने मनसायमा नभएका कारण सिटी सँधै मेसी भित्र्याउन असफल भएको थियो । तर, यो समय सिटिका लागि मेसी अनुबन्ध गर्ने उपयुक्त समय साबित हुन सक्छ ।

यतिबेला सिटीका प्रशिक्षक मेसीकै बार्सिलोना कै पूर्व प्रशिक्षक पेप ग्वार्डिवला छन् । तत्कालिन समयमा मेसी र ग्वार्डिवलाको सम्बन्ध सुमधुर थियो । तीनै ग्वार्डिवलाको प्रलोभन देखाएर सिटीले मेसी भित्र्याउन सक्छ । तर, मेसीका लागि सिटीले ठूलो रकम खर्च गर्नुपर्नेछ ।

२. पेरिस सेन्ट जर्मन (पीएसजी)

मेसीलाई अनुबन्ध गर्नसक्ने अर्को क्लब हो , फ्रान्सको पेरिस सेन्ट जर्मन (पीएसजी) । युरोपियन च्याम्पियन्स लिग जित्न कसरत यस टोलीलाई यो सिजन पनि भाग्यले उपविजेता बन्न मात्रै साथ दियो । इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको पीएसजी जर्मनको बायर्न म्युनिखसँग पराजित हुँदै उपविजेतामा सिमित रह्यो ।

उता, सिटी जस्तै पीएसजी पनि च्याम्पियन्स लिगको भोको छ । च्याम्पियन्स लिग जित्नका लागि महंगो मुल्यमा बार्सिलोनाबाट नेयमार भित्र्याए पनि पीएसजीको भोक मेटिएको छैन । क्लब छोड्ने मनसायमा रहेका मेसी भित्र्याएर पीएसजी च्याम्पियन्स लिगको भोक मेटाउन सक्छ । बार्सिलोनामा रहँदा नेयमर मेसीका नजिकका साथि थिए । मेसी मित्रता हेरेर क्लब छान्ने अवस्थामा गए पीएसजी पनि उनको गन्तव्य हुन सक्छ ।

३. इन्टर मिलान

बार्सिलोना स्टार मेसीले क्लब छोड्ने चर्चा नै नभएता पनि मेसी इन्टर मिलान जाने कुराले चर्चा पाएको थियो । अब भने मेसी इटालियन क्लब इन्टर मिलान जानसक्ने सम्भावनाले अझ प्रगाढता पाएको छ।

१० वर्ष युरोपियन फुटबलमा मेसीका चीर प्रतिद्वन्द्वी रोनाल्डो पनि इटाालियन क्लब युभेन्टसबाट नै फुटबल खेलिरहेका छन् । रियल मड्रिड छोडेर युभेन्टस गएका मेसी र रोनाल्डो पुन एउटै लिगका २ प्रतिद्वन्द्वी हुने सम्भावना देखिएको छ । खराब लयबाट गुज्रेर पुनः लय समात्न खोजेको टोली इन्टरका लागि मेसी अर्को हतियार हुन सक्छन् । घरेलु लिग र च्याम्पियन्स लिगमा दाबेदारी प्रस्तुत गर्न इन्टरले मेसी भित्र्याउन सक्ने समाचार स्पेन लगायत इटालीमा पनि प्रकाशन हुन थालेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?