मोरङमा दलित किशोरीमाथि ३ बालकसहित ४ जनाद्धारा सामूहिक बलात्कार !
मोरङ । मोरङको बेलबारीमा १६ वर्षीया किशोरीलाई ३ बालकसहित ४ जना मिलेर सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । बेलबारी नगरपालिका ११ कि १६ वर्षीया दलित किशोरीमाथि तीन बालक र एक बयस्क व्यक्तिले सामुहिक बलात्कार गरेका प्रहरीले जनाएको छ । घटना गएको मंगलबार दिउँसोको हो ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार स्थानीय जंगलमा निगुरो टिप्न गएकी १६ वर्षीया किशोरीमाथि सुरुमा तीन बालक र पछि गाउँकै ४० वर्षीय होम तामाङले बलात्कार गरेका हुन् । प्रहरीका अनुसार छिमेकमा रहेका ११, १२ र १३ वर्षका बालकहरुलाई लिएर किशोरी निगुरो टिप्न गएकी थिइन् ।
बालिका र बालकहरु चारै जनालाई नियन्त्रणमा लिएर तामाङले घटना गराएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ढकालले बताए । उनका अनुसार नियन्त्रणमा लिएर बालकहरुलाई सुरुमा पालैपालो किशोरी माथि बलात्कार गर्न लगाएको र त्यसपछि तामाङ आफूले पनि बलात्कार गरेको खुलेको छ ।
डर, धम्की र त्रास देखाउँदै तीन जना कलिला उमेरका बालकलाई नाता सम्बन्धकी बालिकामाथि बलात्कार गर्न लगाएर त्यसपछि तामाङ आफूले पनि बलात्कार गरेको पाइयो ढकालले बताए । बालिका र बालकहरुले अस्वीकार गरेपछि हातमा लाट्ठी लिएर पुगेका तामाङले ज्यान लिनेसम्मको धम्की दिएको प्रहरीले जनाएको छ ।
आफूमाथि धम्की आएपछि डरका कारण बालबालिका चुपचाप तामाङले भने अनुसार गर्न र घटना सहन बाध्य भएको पाइएको छ । प्रहरीका अनुसार बालकहरुलाई प्रयोग गरिसकेपछि तामाङले उनीहरुकै अगाडि बालिकालाई बलात्कार गरेको खुल्न आएको छ । यसलाई प्रहरीले अनौठो घटनाका रुपमा लिएर अनुसन्धान अघि बढाएको छ ।
चारै जनाको व्यवहार अरु बेलाकोभन्दा फरक रहेको पाइएपछि आफन्त र परिवारका सदस्यले सोधीखोजी गर्दा घटना बाहिरिएको हो । श्रीमतीले केही वर्ष अगाडि छाडिसकेका तामाङ भने भाई–बुहारीको घरमा बस्दै आएको खुलेको छ ।
घटनापछि तामाङ फरार रहेकाले खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । किशोरीको स्वास्थ्य परीक्षणबाट पनि बलात्कार पुष्टि भएको प्रहरीले जनाएको छ । उनको विराटनगरको कोशी अस्पताल उपचार भइहेको छ ।