मोरङको बेलबारीमा ग्याङ फाइट: एकको मृत्यु, चार घाइते !
काठमाडौँ । मोरङको बेलबारीमा दूई समुहबीच ग्याङ फाइट हुँदा एक जनाको ज्यान गएको छ । बेलबारी नगरपालिका– ५ कसेनीस्थित लोहन्द्र पुलमा शुक्रबार दिउँसो भएको झडपमा चार जना घाइते भएका छन् । मृत्यु हुनेमा बेलबारी नगरपालिका–५ कसेनीका ४० वर्षीय चन्द्रकुमार राई रहेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राईको उपचारका क्रममा विराट मेडिकल कलेजमा शुक्रबार दिउँसो बजे मृत्यु भएको हो । घटनामा घाइते भएका ४२ वर्षीय सइकुमार राई, ३२ वर्षका समुन्द्र राई १६ वर्षका गौरव राईको विराट मेडिकल कलेजमै उपचार भइरहेको छ ।
शुक्रबार दिउँसो स्थानीय ३२ वर्षीय जितेन चौधरी, २५ वर्षीय दिनेश श्रेष्ठ, ३२ वर्षीय सन्तोष मगर र विक्रम राईको समूहले बिहीबार भएको भनाभनको निहुँमा चन्द्रकुमारमाथि आक्रमण गरेको प्रहरीको भनाइ छ ।
सुरुमा चौधरीको समूहले खुकुरी र बञ्चरो लगायतका हतियारले प्रहार गरेपछि दोहोरो झडप भएको प्रहरीले जनाएको छ । कुटपिट गर्ने समूहका चौधरी पनि घाइते भएका छन् । उनलाई विराट नर्सिङहोममा उपचारका लागि पठाइएको छ ।घटनामा संलग्न अन्य तीनजना फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।