राष्ट्रिय फुटबल टोलीका खेलाडी एरिक विष्ट कोरोना मुक्त


काठमाडाैँ । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी कोरोना संक्रमण मुक्त भएका छन् । साउन अन्तिम साता अखिल नेपाल फुटबल संघ (एन्फा)बाट गरिएको परीक्षणमा एरिक विष्टलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस अपडेट गर्दै आफू कोरोना संक्रमण मुक्त भएको बताएका छन् । कोरोना संक्रमित भएपछि विष्ट १९ दिन सेल्फ आइसोलेसनमा बसेका थिए ।

कोरोना संक्रमणको अनुभव लेख्दै एरिकले कोरोना संक्रमित भएपछि समाजले छुट्टै व्यवहार गर्ने उल्लेख गर्दै यसलाई नमिठो अनुभवको रूपमा बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘कोरोना संक्रमण भएपछि हाम्रो समाजले अर्कै व्यवहार गर्नेरहेछ । यो मेरो जीवनको एउटा नमीठो यादका रुपमा रहनेछ । हाल म ठीक छु । कोरोना लागेको व्यक्तिलाई सबैको साथ र सहयोगको खाचो पर्छ । मैले आज एक युद्ध जितेको छु ।’

एरिक ए डिभिजन लिग अन्तर्गत न्युरोड टिम एनआरटी क्लबका खेलाडी हुन् । विश्वकप छनोटको तयारीका लागि प्रशिक्षणमा रहेको बखत एन्फाले सबै खेलाडीको कोरोना परीक्षण गराएको थियो ।

एरिकले कोरोना लाग्दैमा डराउनु पर्ने अवस्था नरहेको समेत उल्लेख गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?