तीन दिनदेखि बेपत्ता अल्का अस्पतालकी कर्मचारीको शव भेटियो, हत्याको आशंका !


काठमाडौँ । तीन दिनदेखि हराइरहेकी ललितपुरस्थित अल्का अस्पतालकी कर्मचारी मृत अवस्थामा फेला परेकी छन् । ३९ वर्षीय गीता केसीको शव शुक्रबार साँझ ललितपुरको लेलेस्थित जंगलमा फेला परेको हो । केसी हराएको भन्दै उनको परिवारले तीन दिन पहिले प्रहरीमा जाहेरी दिएका थिए ।

यस्तो अवस्थामा भेटिएको थियो गीताको शव

प्रहरीले खोजतलास गरिरहेकै बेला शुक्रबार साँझ मुख्य सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा महिलाको शव भेटिएको थियो । शनिबार बिहान उक्त शव केसीको भएको पुष्टि भएको महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी कृष्णराज ओझाले जानकारी दिए । हत्यामा संलग्न भएको आशंकामा केसीको घर रहेको भैंसीपाटी क्षेत्रबाट भतिजा निर्मल केसी पक्राउ परेका छन् ।

उनलाई अहिले ललितपुर प्रहरी परिसर, जावलाखेलको हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा गीताको घाँटी थिचेर हत्या गरिएको हुनसक्ने प्रहरीले जनाएको छ । केसीको शरीरमा अन्य चोटपटक देखिएको छैन । अहिले केसीको शव पोस्टमार्टमका लागि पाटन अस्पताल ल्याइएको छ । गीताको एक छोरी र श्रीमान् छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?