अमेरिका पठाउने भन्दै पैसा खाएर फिलिपिन्समा अलपत्र पार्ने दुई जना काठमाडौंबाट पक्राउ !
काठमाडौँ । अमेरिका पुर्याउने भन्दै पैसा ठगेर दुई युवालाई फिलिपिन्सको मनिलामा पुर्याएर अलपत्र पार्ने १ महिलासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । अमेरिका लैजाने भन्दै पैसा लिएर ठगी गर्ने गरेका उनीहरुलाई मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पश्चिम रुकुमका दुई युवाबाट ४१ लाख ६१ हजार रुपैयाँ ठगेर मनिलाको होटलमा पुर्याएर अलपत्र पारेको आरोपमा नेपाल प्रहरीको मानव बेचविखन नियन्त्रण अनुसन्धान व्युरोले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा ललितपुर उपमहानगरपालिका–७ बस्ने रवि भन्ने ३२ वर्षीय रिकेश महर्जन र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–९ बस्ने २२ वर्षीया कमला लामा रहेका छन् । उनीहरूले २ जना व्यक्तिलाई साउन २०७६ मा अमेरिका लैजाने भन्दै काठमाडौंबाट मलेसिया हुँदै फिलिपिन्सको मनिलासम्म पुर्याई शारीरिक तथा मानसिक यातना समेत दिई बन्धक बनाई राखेको खुल्न आएको ब्यूरोले जनाएको छ ।
दुबै जनाले नेपाल फर्किन सफल भएपछि आवश्यक कारबाहीको माग गर्दै व्युरोमा जाहेरी दिएका थिए । ब्यूरोका अनुसार पक्राउ परेका उनीहरुउपर मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार अनुसन्धान तथा कारबाही थालिएको छ ।