आईपीएल क्रिकेटमा हैदराबादसँग दिल्ली १५ रनले पराजित !
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) त्रिकेटमा सनराइजर्स हैदराबादले पहिलो जित दर्ता गरेको छ । हैदराबादले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको हो । अबुधावीस्थित शेख जाइद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले १६२ रनको योगफल तयार पारेको थियो ।
१६३ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि शिखर धवनले ३४ तथा रिषभ पन्तले २८ सिमरन हेटमेयरले २१ र कागिसो रवाडाले १५ बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
हैदराबादका लागि ४ ओभरमा रशिद खानले ३ विकेट लिए । त्यस्तै, भुवनेश्वर कुमारले २ तथा खलिल अहमद र नटराजनले १–१ विकेट लिए । पहिलो इनिङमा हैदराबादका लागि बेयरिस्टोले ४८ बलमा २ चौका र १ छक्कासहित ५३ रनको योगदान गरेका थिए ।
त्यस्तै कप्तान डेभिड वार्नरले २२ बलमा ३ चौका र २ छक्कासहित ४५ तथा केन विलियमसनले २६ बलमा ५ चौकासहित ४१ रन जोडेका थिए । दिल्लीका लागि कागिसो रवाडा र अमित मिश्राले २–२ विकेट लिएका थिए । जितसँगै हैदराबादले ३ खेलमा २ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको दिल्लीले ३ खेलमा ४ अंक जोडेको छ