लिभरपुलका फरवार्ड मानेलाई कोरोना संक्रमण
एजेन्सी । इंग्लिस क्लब लिभरपुलका फरवार्ड साडियो मानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । मानेको शुक्रबार कोरोना रिपोर्ट पोजेटिभ आएको लिभरपुलले जानकारी दिएको छ ।
क्लबले मानेलाई कोरोना भाइसरका सामान्य लक्षण देखिएको समेत उल्लेख गरेको छ । लक्षण देखिए पनि मानेको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको छ ।
मानेले आर्सनल र लिभरपुलबीच प्रिमियर लिग अन्तर्गतको खेल खेलेका थिए । उक्त खेलमा ३–१ गोलको सहज जित निकालेको लिभरपुलले इएलएल कपमा भने आर्सनलसँगै हार व्यहोरेको छ । पेनाल्टी सुटआटमा आर्सनलले लिभरपुललाई हराएको थियो ।
माने सहित लिभरपुलका २ जना खेलाडीमा कोरोना संक्रमण भएको छ । तीन दिनअघि जर्मन क्लब बायर्न म्युनिखबाट लिभरपुल आएका थियगो अलकान्टरामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मानेले चालु सिजन लिभरपुलका लागि ३ गोल गरेका छन् । कोरोना संक्रमण पुष्टि भएका माने होम आइसोलेसनमा बस्ने बताइएको छ ।