चेन्नईमाथी दिल्लीको रोमान्चक जित !
काठमाडौँ । यूएईमा जारी आईपीएलमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । चेन्नाईले दिएको १८० रनको लक्ष्य पछ्याएको दिल्लीले एक बलअघि नै पाँच विकेटको क्षतिमा जित निकाल्यो । ओपनिङमा आएका शिखर धवनले आउट नभइ १०१ रन बनाए । उनले ५८ बल खेल्दा एक छक्का र १४ चौका प्रहार गरे ।
चेन्नाईका लागि बलिङतर्फ दीपक चाहरले दुई विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको चेन्नाईले चार विकेट क्षतिमा १७९ रन बनाएको थियो । उसका लागि फाप डु प्लेसीले ५८ र रवीन्द्र जडेजाले ४५ रन बनाएका थिए । महेन्द्र सिंह धोनी तीन रनमा बाहिरिएका थिए ।
दिल्लीका लागि एनरिच नोत्र्जेले दुई विकेट लिए । जितपछि नौ खेलबाट १४ अंकसहित दिल्ली शीर्षस्थानमा पुगेको छ । मुम्बई इन्डियन्स आठ खेलबाट १२ अंकसहित दोस्रो स्थानमा धकेलिएको छ । हिजो राति भएको खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई हराउँदै शीर्षस्थानमा पुगेको थियो ।
यसअघि आज भएको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्लोरले राजस्थान रोयल्सलाई सात विकेटले हराएको थियो। अंक तालिकामा बेङ्लोर नौ खेलबाट १२ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ। उति नै खेलबाट ६ अंक भएको राजस्थान सातौँ स्थानमा छ ।