एकैरात बार्सिलोना र रियल मड्रिड पराजित
एजेन्सी । स्पेनिस लालिगा अन्तर्गत पावरहाउस बार्सिलोना र रियल मड्रिड पराजित भएका छन् । बार्सिलोना गेटाफेको मैदानमा पराजित हुँदा रियल मड्रिड भने घरेलु मैदान स्टाडियो अल्फ्रेडो स्टिफानोमा पराजित भएको हो ।
रियल मड्रिड दोश्रो डिभिजनबाट यसै सिजन बढुवा भएको क्याडिजसँग पराजित भएको हो । खेलको सुरूवाती १६ मिनेटमा नै एक गोलले पछि परेको अवस्थाबाट माथि उठ्न नसक्दा रियल पराजित भयो।
क्याडिजका लागि एन्थोनी लोजानोले गोल गरेका थिए । खेलका दाैरान ७५ प्रतिशत बलमाथि नियन्त्रण राखे तापनि रियलले गोल गर्न सकेन ।
त्यस्तै बार्सिलोना पनि गेटाफेको मैदान कोलिसम अल्फन्सो पेरेज स्टेडियममा १ –० गोल अन्तरले नै पराजित भएको छ ।
बार्सिलोनाका मिडफिल्डर फ्र्यांकि डि योङले डिबक्समा फाउल गरेपछि पाएको पेनाल्टीलाई हाइमी माटाले गोलमा परिणत गर्दै बार्सिलोना विरूद्ध जीत दर्ता गराएका हुन् ।
यो हारसँगै बार्सिलोना लालिगाको नवाैँ स्थानमा पुगेको छ भने रियल मड्रिड शीर्ष स्थानमा यथावत् छ ।
मंगलबार रियल मड्रिड र बार्सिलोनाले नै युरोपियन च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै शनिबार बार्सिलोना र रियल मड्रिड लालिगामा आमने सामने हुँदैछन् ।