शीर्षस्थानको दिल्लीमाथि पन्जाबको ५ विकेटको जित !


काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत किंग्स इलेभेन पञ्जाबले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको छ । दिल्लीले दिएको १६५ रनको लक्ष्य पछाएको पञ्जाबले १९ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

शीर्षस्थानको दिल्लीलाई पराजित गर्न किङ्स इलेभन पञ्जाबले १६५ रनको लक्ष्य १९ ओभरमा भेट्टाएको थियो । उसका लागि निकोलस पुरनले सर्वाधिक ५३ रन बनाए। उनले २८ बलमा ६ चौका र तीन छक्का प्रहार गरे । त्यसैगरी ग्लेन म्याक्सवेलले ३२ रन बनाए । दिल्लीका कुनै पनि बलरले प्रभावशाली प्रदर्शन गर्न सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले २० ओभरमा पाँच विकेट गुमाउँदै १६४ रन बनाएको थियो । उसका लागि शिखर धवनले अविजित १०६ रन बनाएका थिए । तर, धवनबाहेक अन्य ब्याट्स्म्यानले सुस्त गतिमा खेल्दा चुनौतीपूर्ण रन बन्न सकेन ।

धवनले ६१ बल खेल्दै तीन छक्का र १२ चौका प्रहार गरेका थिए । जारी सिजन यो उनको दोस्रो शतक हो । उनी आईपीएलमा लगातार दुई खेलमा शतक बनाउने पहिलो खेलाडी भएका छन् ।

१० खेलबाट १४ अंक बटुलेको दिल्ली हारका बावजुद शीर्षस्थानमा कायम छ । मुम्बई इन्डियन्सको १२ अंक छ र एक खेल कम खेलेको छ । उता पञ्जाबको भने १० खेलबाट आठ अंकसहित पाचौँ स्थानमा उक्लिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?