आईपीएलमा शीर्षस्थानको मुम्बईलाई राजस्थानले ८ विकेटले हरायो !
काठमाडौँ । यूएईमा जारी आईपीएल २०२० को ४५ औं खेल राजस्थान रोयल्सले जितेको छ । अलराउन्डर बेन स्टोक्सको उत्कृष्ट शतकमा राजस्थानले शीर्षस्थानमा रहेको मुम्बई इन्डियन्समाथि सानदार जित हात पारेको हो।
राजस्थानले मुम्बईलाई ८ विकेटले पराजित गर्दै प्लेअफको सम्भावना कायमै राखेको छ। जितका लागि १९६ रनको लक्ष्य पछ्याएको राजस्थानले १८.२ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । राजस्थानको जितमा बेन स्टोक्सले अविजित शतकीय इनिङ खेले। स्टोक्स ६० बलमा १४ चौका र ३ छक्का सहित १ सय ७ रनमा अविजित रहे ।
त्यसअघि शेख जायद स्टेडियम अबुधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ५ विकटको क्षतिमा १९५ रन बनाएको थियो । जितसँगै राजस्थानको प्लेअफ सम्भावना कायमै रहेको छ । राजस्थानले अब शुक्रबार किंग्स इलेभेन पन्जाबसँग खेल्ने छ । मुम्बईले भने बुधबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ ।
आईपीएल अंकतालिकामा मुम्बई ११ खेलमा ७ मा जित र ४ मा हारसहित १४ अंकका साथ शीर्षस्थानमा छ । दिल्ली क्यापिटल्स ११ खेलमा ७ मा जित र ४ मा हारसहित दोस्रो स्थानमा छ । बेंगलोर ११ खेलमा ७ मा जित र ४ मा हारसहित तेस्रो स्थानमा छ । चेन्नई सुपर किंग्स १२ खेलमा ८ मा हार र ४ मा जितसहित पुछारमा छ ।