आईपीएलः प्लेअफबाट बाहिरने दोश्रो टीम बन्यो पञ्जाव !
काठमाडौं । आईपीएलको १३ औँ सीजनको ५३ औँ म्याचमा चेन्नई सुपरकिंग्सले किंग्स इलेभन पञ्जावलाई ९ विकेटले पराजित गरेको छ । यो हारका साथै पञ्जाव प्लेअफबाट बाहिरिएको छ । पञ्जावको १४ म्याचमा ६ जीतका साथै १२ अंक रहेको छ । यो भन्दा अगाडि नै प्लेअफबाट बाहिरिसकेको चेन्नईको भने सुखद बिदाई भएको छ ।
पञ्जाबले दिएको एक सय ५४ रनको लक्ष्य चेन्नईले १८ दशमलव पाँच बलमा एक विकेट गुमाउँदै भेट्यायो । चेन्नईका लागि रुतुराज गायकवाडले अविजित ६२, फाफ डु प्लेसीले ४८ र अम्बाती रायुडुले अविजित ३० रन बनाए । पञ्जाबका लागि क्रिस जोर्डनले एक विकेट लिए । हारसँगै पञ्जाबको प्लेअफ खेल्ने सम्भावना सकिएको छ । चेन्नईको भने यसअघि नै प्लेअफ खेल्ने सम्भावना सकिएको थियो ।
यसअघि आबुधाबीको शेख जयेद स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५३ रन बनाएको थियो । पञ्जाबका लागि दीपक हूडाले ३० बलमा अविजित ६५ रन र मयङ्क अग्रवालले १५ बलमा २६ रन बनाए । बलिङतर्फ लुङ्गी एन्गिडीले तीन विकेट लिँदा शार्दुल ठाकुर, इमरान ताहिर र रविन्द्र जडेजाले समान एक–एक विकेट लिए । चेन्नईले १८ दशमलव पाँच बलमा एक विकेट गुमाउँदै एक सय ५४ रन बनायो ।