अभिनेत्री कंगना र उनकी दिदीलाई नोभेम्बर १० भित्र मुम्बई प्रहरीमा उपस्थित हुन आदेश !


एजेन्सी । बलिवुड अभिनेत्री कंगना रनावतको मुस्किल बढिरहेको छ । उनीविरुद्ध एकपछि अर्को मुद्धा दायर भएपछि अभिनेत्री झन् विवादमा परिरहेकी छन् । मुम्बई प्रहरीले कंगना रनौट र उनकी दिदी रंगोली चंदेललाई बयानका लागि हाजिर हुन बोलाएको छ । उनीहरुलाई नोभेम्बर १० भित्र हाजिर हुन भनिएको हो । न्यूज एजेन्सी एएनआईले यसबारे ट्विट गर्दै जानकारी दिएको छ ।

कंगनाविरुद्ध मुम्बईको बान्द्रा प्रहरी वृत्तमा उजुरीपछि मुम्बई प्रहरीले समन (बयानका लागि प्रहरी वृत्त बोलाएको पत्र) पठाइएको हो । स्थानीय अदालतको आदेशमा मुम्बई प्रहरीले कंगना र उनकी दिदि रंगोली विरुद्ध १७ अक्टोबर मा एफआईआर दर्ता गरेको थियो । उनीहरु विरुद्ध सामाजिक सञ्जालमा गरेका पोस्टहरु मार्फत साम्प्रदायिक तनाव फैलाएकोलगायत अन्य आरोप लागेको छ । बान्द्रा मेट्रोपोलिटन मजिस्ट्रेटको अदालतले बलिउड निर्देशक मुनावर अली सय्यदको उजुरीमा मुम्बई प्रहरीलाई अनुसन्धान गर्न आदेश दिएको हो ।

एक प्रहरी अधिकारीका अनुसार उनीहरु विरुद्ध भारत दण्ड संहिताको धारा १५३ ए (धर्म, जाति आदिको आधारमा विभिन्न समुदाय बिचमा झगडा बढाउनु), २९५ ए (जानाजानी धार्मिक भावनामा चोट पुर्‍याएको) र १२४ ए (देशद्रोह) अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

याचिकाकर्ता वकिल साहिल अशरफ अली सैयदले बान्द्रा कोर्टमा दायर गरेको अर्जीमा भनिएको छ, ‘कंगना रनोट विगत केही महिनादेखि लगातार बलिउडलाई नेपोटिज्म र फेभरेटिज्मको केन्द्र बताएर अपमान गरिरहेकी छन् । आफ्नो अफिसियल ट्विटर ह्याण्डलबाट ट्वीट गर्दै र टिभी इन्टरव्यूमार्फत हिन्दू र मुस्लिम कलाकारबीच फुट ल्याउने कोशिश गरिरहेकी छन् ।’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?