दिल्ली पहिलो पटक आईपीएलको फाइनलमा !


काठमाडौँ । दिल्ली क्यापिटल्स सानदार अलराउन्ड प्रदर्शन गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । सनराइजर्स हैदराबादलाई आइतबार क्वालिफायर्स २ मा १७ रनले पराजित गरेपछि दिल्ली आईपीएलको १३ औं संस्करणमा आएर पहिलो पटक फाइनल पुगेको हो ।

शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ९० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो । हैदराबादका लागि केन विलियम्सनले ६७ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै अब्दुल समादले ३३ रन जोड्दा राशिद खानले ११ रन बनाए ।

मनिस पाण्डे २१ रनमा आउट हुँदा प्रियान गार्गले १७ रन बनाए । जासन होल्डरले ११ रन तथा कप्तान डेभिड वार्नरले मात्र २ रन बनाए । हैदराबादलाई सस्तैमा समेट्न दिल्लीका कागिसो राबडाले ४ विकेट लिए । मार्कुस स्टोनिसले ३ तथा अक्षर पटेलले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।

दिल्लीका लागि शिखर धवनले ७८ रनको अर्धशतकीय इनिङ्स खेले । शिम्रन हिटमायर ४२ रनमा अविजित रहे । यस्तै मार्कुस स्टोनिसले ३८ रन जोड्दा कप्तान श्रेयस एयरले २१ रन बनाए । हैदराबादका जासन होल्डर, सन्दीप शर्मा र राशिद खानले १र१ विकेट लिए । यससँगै दिल्ली आईपीएलको इतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको छ ।

अब दिल्लीले उपाधिका लागि साविक विजेता समेत रहेको मुम्बई इण्डियन्ससँग खेल्नेछ । फाइनल खेल मंगलबार दुबईमा हुनेछ । हैदराबाद भने प्रतियोगिताबाट बाहिरिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?