ठूलो होस् वा सानो, चोर चोरै हो
प्रसङ्ग चोरीको, मूल कथातत्व तोरी सरको ।
पेटव्यहोरा ढ्याकप्रसाद, ढोङनाथ र चटपटकान्तको ।
चोरी एउटा दुव्र्यसन हो । चोर्दैजाँदा चोरीकर्म जब चोरको आदत बन्दैजान्छ, त्यो क्रमशः प्रवृत्तिमा विकसित हुन्छ । प्रवृत्ति जण्ड प्रकृतिको हुन्छ । हो, बडो ढिड र जरुवा प्रकृतिको हुन्छ त्यो । त्यो प्रतिबद्ध र निरन्तर चोरीकर्ताका नसानसामा, रगतका कणकणमा व्याप्त हुन्छ । त्यो भित्रभित्रै गड्छ र त्यो हुनुसम्म जमठ हुन्छ ।
सानो होस् वा ठूलो, चोर आखिर चोरै हो । सानो चोर वास्तवमा मौका नपाएर ठूलो चोर हुन नसेकेको चोर हो । सानो चोर वास्तवमा ठूलो चोर हुने मौका कुरिबसेको चोर हो । मौका पायो कि फटाफट चोरीको सिँढी उक्लिँदै ऊ चोरीको उच्चतातर्फ, उत्कर्षतर्फ, विध्वंशतर्फ उन्मुख भइहाल्छ ।
नेपाली राजनीतिमा अहिले कष्टकर पश्चगमनको अनिष्ट मौसम छ । यो मौसमका मूल नाइके, पृष्ठभूमि निर्माता र उद्घोषक हुन् श्री तोरी सर । सत्ता–राजनीतिमा तोरीय प्रवृत्तिको चुरो कुरो बुझ्ने कोही ज्ञानी यिनलाई ‘भष्मासुर’ भन्छन् । कोही ज्ञानी यिनलाई ‘गोर्खे हिटलर’ भन्छन् । र, कोही ज्ञानी यिनलाई ‘छोटे ट्रम्प’ भन्छन् । तोरी सर आफ्नो नायकत्वमा निर्मित यो पश्चगमनको सुरुङमार्गी अमानवीय यात्राका ‘उदीयमान नरेश’ हुन् । चल्तीको लोकबोलीमा मिस्टर तोरी ‘बयलगाडे नरेश’ भनेर सर्वत्र चिनिन्छन् । यो वास्तवमा कल्पनाशील तोरी स्वयंले स्वयम्का लागि रचेको खुबै सुहाउँदिलो पश्चगामी नाम हो । कर्ताको खास प्रवृत्ति झल्किने यो नाम तोरी सरलाई हुनुसम्म शोभायमान छ ।
आयो कुरा फेरि चोरैको । छिमल–छिमलका राजनीतिक चोरहरुबाट आजित भुक्तभोगी लोक भन्छ— पश्चगमनको माहोलका सर्वाधिक ठूला चोर तोरी सर हुन् । चोरीकर्मका निर्विवाद अग्रदूत, उस्ताद एवं कमाण्डर विरलाकोटी तोरी सर । जनजनले कत्रा दुःखले आज्र्याका जनअधिकारका चोर । रक्तरञ्जित खण्डे संविधानको मर्म र निम्छरो संसदको घिटिघिटी प्रणवायुका चोर । शैशवकालीन लोकतान्त्रिक संस्था र संरचनाको अख्तियार, प्रतिष्ठा र गरिमाका चोर । राजकीय शक्ति र श्रोत–साधनका चोर । संसदीय विधि, नीति र मर्यादाका चोर । सहिदका पवित्र सपना, अमूल्य त्याग र स्मरणीय बलिदानका चोर । नागरिक स्वतन्त्रता, स्वायत्तता र स्वाभिमानका चोर । सारमा जनजनको भाग्य र भविष्यका जघन्य चोर । यतै चोर, उतै चोर, जताततैको चर्चामा मान्यवर तोरी सर चोरैचोर !
यो भयो टाढैबाट देखिने र सहजै चिनिने छद्म श्रीपेचधारी ठूलो चोरको यथार्थपरक प्रवृत्तिगत चिनारी । जहाँ ठूलो चोर हुन्छ, त्यहाँ साना चोर पनि हुन्छन् नै । यहाँ पनि छन् । यी साना चोर ठूलो चोरका भ्रूण हुुन् । यिनका कुरा सुन्दा उदेक लाग्छ, यी साना चोर आफूलाई फोहोर आहालमाथि ओभानो र सुकिलो ठान्छन् । मतिभ्रष्ट, नैतिकच्यूत र लल्जाशून्य हुनाको कारण होला सायद यी साना चोर आफ्नो चोरी देख्दैनन् । अथबा अपेक्षाकृत सानो हुनाले आफ्नो चोरीलाई यी चोरी नै ठान्दैनन् ।
हाल यी साना चोर ठूला चोरको ठूलो चोरीविरुद्ध सडकमा र सञ्चारमा गर्जन–तर्जन गर्दै दैनिक समाचारमा ङिच्च मुद्रामा उपस्थित छन् । आफू कत्ति न सद्दे र शुद्ध भएको कुटिल अभिनय गर्दै यी रुन्चे गनगन गर्छन्— भुइँफुट्टा नयाँ राजाले विधि भत्कायो । नीति कुल्च्यो । संविधानका छातीमा छुरी धस्यो । संसदको देहमा आगो झोस्यो । नागरिक स्वतन्त्रताको गर्धनमाथि डिमोकलको तरबार झुण्ड्यायो । अहो ! यो भष्मासुले जे छोयो, त्यो नाश नगरी नछोड्ने भो !
साधुको छद्म आवरणमा लुकेर सर्वभक्षी एवं सर्वेसर्वा चोर तोरी सरलाई यतिका फत्तुर लगाउने को हुन् यी साना चोरहरु ? शासकीय वृृत्तमा चोरको विशाल महलमा छन त चोर थुप्रा छन् । तर म यहाँ केवल तिनका तीन थान प्रतिनिधिको चर्चा गर्छु । यी तीन थान प्रतिनिधि चोर हुन्— कमरेड त्रय ढ्याकप्रसाद, ढोङनाथ र चटपटकान्त चतुरे । यी कमरेड त्रयले ‘कम्निस्ट’, ‘क्रान्तिकारी’, ‘जनवादी’ र ‘समाजवादी’को झल्झलाकार लाल पगरी गुथेका छन् । मान्यवर पाठकवृन्द ! जाज्वल्यमान् लाल महलका यत्रायत्रा हस्तीलाई चोरको महलमा राखेर चर्चा गर्न खोजेको देख्दा सके यहाँहरुलाई मैले सानो मुखले ठूलो कुरा गरेजस्तो लाग्ला । सके झोँक चल्ला । तर जब चोर चोरै रहेछ भन्ने रहस्य खुल्छ, मलाई लाग्छ, यहाँहरुको झोँक तत्क्षण फासफुस हुनेछ । यी तीन महान् प्रतिभा कमरेड ढ्याकप्रसाद, ढोङनाथ र चटपटकान्त चतुरे जनदृष्टिमा ‘हरुवा’ र ‘अर्काका भागको तर चोरुवा’ भनी यत्रतत्र परिचित र चिर्चित छन् । हैन, यत्रो फत्तुर लाग्ने गरी यिनले कसको के चोरे हँ ? भन्नुमात्र हुँदैन, मान्यवर, यिनले राष्ट्रिय सभाका सदस्य पद चोरे । विधिको स्रेस्तामा ती वास्तवमा विज्ञका लागि निर्माण गरिएका र तिनैलाई समर्पित पद हुन् । हो, पार्टी राजनीति इतरका सज्जन, ज्ञानवान् र लोकोपयोगी विज्ञका लागि । पार्टीका सदाबहार हरुवाहरुलाई विराजमान गराएर यी कामचोरलाई पोस्न किमार्थ बनेको होइनन् ती पदहरु ।
तर जाली र झेली राजनीतिक व्यवहारमा भएको छ के ? जनमतका दुःखले चुनाव लड्न आँटै नगर्ने, आँट गरिहाले नहारी नछाड्ने यी त्रिमूर्ति अर्काका पद चोरेर लटालट लाभ लिँदै आफ्नो क्षुद्र लोभलाई तृप्त गरिरहेका छन् । अनि अहिले ? अर्काका पद चोरीखाने यी महान् मनीषी अहिले ‘नवनरेश’ तोरी सरलाई जनताको यो र त्यो बिगार गर्ने उपद्र्याहाको संज्ञा दिइरहेछन् । आफ्नो तुच्छ स्वार्थपूर्ति, अहंको तुष्टि र प्रलोभन तृप्तिका लागि ठूला तोरी सरले त विधि मिचेका छन् नै । यी साना सरहरुले पनि विधि मिचेकै छन् । तोरी सरको मिचाइ ठूलो छ, यिनको मिचाइ सानो छ । ठूलो होस् वा सनो, मिचाइ त आखिर मिचाइ नै हो । तैपनि मानौँ आफू सर्वाङ्ग सद्दे, शुद्ध र कन्चन भएझैं गरी यी तीन अलोकप्रिय एवं नित्य हरुवा कमरेड तोरी सरलाई अनेकओली खोट लगाइरहेका छन् । यो त साना चोरले आप्mनो कलङ्कित मुख छोपेर ठूला चोरलाई ठूलो स्वरमा ‘तँ चोर’ भनेजस्तो भएन र ?
जो जे हो उसले नढाँटी म त्यही हुँ भन्नु इमानको कुरा हो । चोरले म चोरै हुँ भनोस्, सज्जनताको अभिनय गर्ने कुटिल ढोङ कदापि नरचोस् । इमान र पारदर्शिताको कुरो त यो पो हो । चोरको यस्तो पारदर्शी व्यवहारले लोकमतमा भ्रमको सिर्जना गर्दैन । जीवनको जटिल नाटकमा जब सानो चोर ठूलो चोरलाई ‘तँ चोर’ भन्दै मिथ्या अभिनय गर्न थाल्छ, तब कुरो गडबड हुन्छ । मिथ्या अभिनयद्वारा चोर साधुजस्तो देखिनु साधुको साधुत्वको घोर अवमूल्यन र अपमान हो । राष्ट्रिय सभाका प्रतिनिधि चोरहरु छलकारी अभिनयद्वारा साधुत्वको हुर्मत लिन कटिबद्ध छन् । खोटो संसदीय राजनीतिको कति कुरुप, विरुप र विद्रूप दृश्य हो यो !
साधुको भ्रान्तिकारी भेषमा प्रकट हुनुमा चोरलाई त मजै होला । तर देखिजान्ने लोकलाई दिगमिग लाग्छ र त्यसैत्यसै झोँक चल्छ । झोँक चल्ने अनेकमध्ये एउटा कुुरा यो हो । राष्ट्रिय सभाका सुपरिचित चोरहरुको दुर्गन्धमय अभिनय मिडियाका लागि यति साह्रो प्रिय मसला किन बनेको होला ? सच्चा मिडियाले त यिनलाई हाक्ँकाहाक्की भन्नुपर्ने हो— ओ अर्काका भागको तर चोरीखाने चोर कमरेडहरु हो ! कि चोरेर हत्याएका राष्ट्रिय सभाका लाभका पद त्यागेर मुख धोएर सडका ओर्ल । कि आफू साना चोर भइरहेर ठूला चोर तोरी सरलाई यसो र त्यसोको आरोप लगाउन छाड । नत्र लोक जुरुक्क उठेर भोलि भन्न बाध्य हुनेछ— मानौँ ठूलो चोर हुन नपाएर ठूलो चोरको उग्र विरोध गर्ने ओ साना चोरहरु हो ! यो बकबास बन्द गर !