शाहरुख खानका छोरा आर्यन अझै छुटेनन्, जमानत बारे शुक्रबार सुनुवाई हुने


एजेन्सी । ड्रग्स प्रकरणमा हिरासतमा रहेका बलिवुड अभिनेता शाहरुख खानका छोरा आर्यन खान अझै छुटेका छैनन् । यसअघि तीन दिन हिरासतमै रहन स्वीकृत दिएको मुम्बईको अदालतले आर्यन खानसहित पक्राउ परेका सातै जनालाई एक रातका लागि न्यायिक हिरासतमा राख्न आदेश दिएको हो ।

उनको जमानत बारेको निर्णय शुक्रबार हुने बताइएको छ ।

मुम्बईबाट गोवा जादै गरेको पानी जहाजमा भएको रेभ पार्टीमा ड्रग्स बरामद भएपछि यस प्रकरणमा अभिनेता शाहरुख खानका छोरा आर्यन खान पक्राउ परेका थिए । नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले छापा मार्दा ३० ग्राम चरेस, २० ग्राम कोकिन र २५ एमडीएमए ड्रग्सका ट्याब्लेट तथा १० ग्राम एमडी ड्रग्स बरामद गरेको थियो ।

एनसीबीले विहिबार पनि अदालतमा म्याद थपका लागि पेश गर्दै आर्यनको मोबाइलबाट महत्वपूर्ण सूचना मिलेको र उनको सम्बन्ध ड्रग्स गिरोहसंग रहेको तथ्य फेला परेको दाबि गरेको थियो ।

करिब २००० जनाको क्षमता भएको सो जहाजमा ६ सय भिआइपीले पार्टी गरिरहेका थिए । यस पार्टीको आयोजना फेशन टिभी इन्डियाले गरेको बताइएको छ । समुन्द्रको बिचमा हुने यस पार्टीमा प्रवेशका लागि ६० हजार देखि ५ लाखसम्मको टिकट बेचिएको भारतीय मिडियाले दाबि गरेका छन् ।

शनिबारदेखि शुरु भएको पार्टी चार दिनका लागि आयोजना गरिएकोमा पहिलो दिननै प्रहरीले हस्तक्षेप गरेको थियो । मिडिया रिपोर्टका अनुसार एनसीबीका करिब २० जना पार्टीमा टिकट काटेर सहभागी भएका थिए । पार्टीमा ड्रग्सको सेवन शुरु भएपछि उनीहरुले छापा मार्न शुरु गरेका थिए ।

एनसीबीले अहिलेसम्म दुइ महिलासहित १७ जनालाई पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यसअघि आर्यनले प्रहरीसँगको बयानमा आफु यस पार्टीमा आउन कुनै पैसा नतिरेको र आफुलाई अतिथिको रुपमा निमन्त्रणा आएको एनसीबीलाई बताएका थिए ।

एनसीबीले पार्टीको एक भिडियो बरामद गरेपछि सो भिडियोमा आर्यनलाई देखेपछि उनलाई सोधपुछ गरको बताइएको छ । एनसीबीले अहिले आर्यनको ड्रग्स कनेक्सनका बारेमा अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?