अब आर्यनलाई छुटाउने जिम्मा सलमानका वकिल देसाईलाई


एजेन्सी । छोरा आर्यन खानलाई जमानत दिलाउन नसकेपछि शाहरु खानले वकिल फेरेका छन् । हाल मुम्बईस्थित आर्थररोड जेलमा रहेका आर्यन खानको जमानतका लागि शाहरुख खानले आफ्नो वकिल बदलेका हुन् ।

सेशन कोर्टमा दिएको निवेदनको आज सुनुवाई हुदै छ । यस अघि आर्यनको केस वरिष्ठ वकिल सतिश मानशिंदेले हेरेका थिए भने उनले जमानत दिलाउन नसकेपछि शाहरुखले नयाँ क्रिमिनल वकिल अमित देसाईलाई नियुक्त गरेका छन् ।

देसाईले सन् २००२ मा सलमान खानसँग जोडिएको ‘हिट एण्ड रन’ मुद्दामा सफलता हात पारेका थिए । देसाईले मुद्दामा सलमानलाई रिहा गराउन सफल भएका थिए ।

सेशन कोर्टको प्रक्रियाका विषयमा भारतीय मिडियाहरुले २–३ लाग्न सक्ने सम्भावना रहेको बताएका छन् । जसका कारण आर्यनको जेलको समय अझै केहि दिन बढ्न सक्ने बताइएको छ ।

अमितले अदालतमा मंगलबार आफ्नो पक्ष राख्दै आर्यनसँग ड्रग्स बरामद पनि नभएको जिकिर गर्दै प्रशासनिक कामका कारण कसैलाई जेलमा राख्न नहुने तर्क गर्दै सुनुवाईको मिति माग गरेका थिए ।

यसअघि नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले आइतबार शाहरुख खानका ड्राइभरसँग समेत बयान लिएको छ । ड्राइभर राजेश मिश्रासंगको बयान पछि उनलाई आइतबार नै छाडिएको छ । ड्राइभर मिश्रले आर्यनलाई क्रुजसम्म ल्याएको भएर उनको बयान लिइएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

मुम्बईबाट गोवा जादै गरेको पानी जहाजमा भएको रेभ पार्टीमा ड्रग्स बरामद भएपछि यस प्रकरणमा अभिनेता शाहरुख खानका छोरा आर्यन खान पक्राउ परेका थिए । नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले छापा मार्दा ३० ग्राम चरेस, २० ग्राम कोकिन र २५ एमडीएमए ड्रग्सका ट्याब्लेट तथा १० ग्राम एमडी ड्रग्स बरामद गरेको थियो ।

अदालतले आर्यनसहित पक्राउ गरेका सबैलाई १४ दिनको न्यायिक हिरासतमा पठाए पछि उनीहरु अहिले जेलमा रहेका छन् ।

करिब २००० जनाको क्षमता भएको सो जहाजमा ६ सय भिआइपीले पार्टी गरिरहेका थिए । यस पार्टीको आयोजना फेशन टिभी इन्डियाले गरेको बताइएको छ । समुन्द्रको बिचमा हुने यस पार्टीमा प्रवेशका लागि ६० हजार देखि ५ लाखसम्मको टिकट बेचिएको भारतीय मिडियाले दाबि गरेका छन् । शनिबारदेखि शुरु भएको पार्टी चार दिनका लागि आयोजना गरिएकोमा पहिलो दिननै प्रहरीले हस्तक्षेप गरेको थियो ।

मिडिया रिपोर्टका अनुसार एनसीबीका करिब २० जना पार्टीमा टिकट काटेर सहभागी भएका थिए । पार्टीमा ड्रग्सको सेवन शुरु भएपछि उनीहरुले छापा मार्न शुरु गरेका थिए ।

एनसीबीले अहिलेसम्म दुइ महिलासहित १७ जनालाई पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?