सलमानका वकिलले पनि छुटाउन सकेनन् आर्यनलाई, अझै केही दिन जेलमै बस्ने


एजेन्सी । शाहरु खानका छोरा आर्यन खान अझै केही दिन जेलमै बस्ने भएका छन् । फेरिएका वकिलले पनि जमानत दिलाउन नसकेपछि आर्यन अझै केही दिन जेलमै बस्ने भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।

यस अघि आर्यनको मुद्दा वरिष्ठ वकिल सतिश मानशिंदेले हेरेका थिए भने उनले जमानत दिलाउन नसकेपछि शाहरुखले नयाँ क्रिमिनल वकिल अमित देसाईलाई नियुक्त गरेका थिए । देसाईले सन् २००२ मा सलमान खानसँग जोडिएको ‘हिट एण्ड रन’ मुद्दामा सलमानलाई रिहा गराउन सफल भएका थिए ।

बिहीबार मुम्बईको विशेष एनडीपीएस अदालतले आर्यनलगायत अभियुक्तबारे सुनुवाइ गरे पनि निर्णय नसुनाएको हो । अदालतले अब आउने २० तारिखका दिन निर्णय सुनाउने भनेको छ । उनी अहिले मुम्बईस्थित आर्थर रोड जेलमा छन् ।

तसर्थ उनी त्यस दिनसम्म जेलमै बस्नुपर्ने भएको हो । त्यस दिन अदालतले उनीहरु धरौटीमा रिहा हुने वा नहुने निर्णय सुनाउने बताइएको छ ।

मुम्बईबाट गोवा जादै गरेको पानी जहाजमा भएको रेभ पार्टीमा ड्रग्स बरामद भएपछि यस प्रकरणमा आर्यन पक्राउ परेका थिए । नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले छापा मार्दा ३० ग्राम चरेस, २० ग्राम कोकिन र २५ एमडीएमए ड्रग्सका ट्याब्लेट तथा १० ग्राम एमडी ड्रग्स बरामद गरेको थियो ।

करिब २००० जनाको क्षमता भएको सो जहाजमा ६ सय भिआइपीले पार्टी गरिरहेका थिए । यस पार्टीको आयोजना फेशन टिभी इन्डियाले गरेको बताइएको छ । समुन्द्रको बिचमा हुने यस पार्टीमा प्रवेशका लागि ६० हजार देखि ५ लाखसम्मको टिकट बेचिएको भारतीय मिडियाले दाबि गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार एनसीबीका करिब २० जना पार्टीमा टिकट काटेर सहभागी भएका थिए । पार्टीमा ड्रग्सको सेवन शुरु भएपछि उनीहरुले छापा मार्न शुरु गरेका थिए । एनसीबीले अहिलेसम्म दुइ महिलासहित १७ जनालाई पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?