२ सय करोड ठगी मुद्दामा दुई बलिउड अभिनेत्रीलाई सोधपुछका लागि प्रहरीले बोलायो
एजेन्सी । बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डेज र नोरा फतेहीमाथि ठगी र फिरौती मागेको आरोपमा सोधपुछका लागि प्रहरीले बोलाएको छ । २ सय करोड भारतीय रुपैयाँ ठगी र फिरौती मामिलामा ज्याक्लिन र नोरा ई इन्फोर्समेन्ट डायरेक्टोरेट ईडीले सोधपुछका लागि बोलाएको हो ।
उक्त मामिलामा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्नहरुलाई ईडीले सोधपुछ गरिरहेको बताएको छ । सुकेश चन्द्रशेखरले रनबक्सीका पूर्व प्रमोटर शिविन्दर सिंह र मलविन्दर सिंहलाई २ सय करोड रुपैयाँ ठगी गरेको आरोप छ । चन्द्रशेखरको पत्नी लिना पाउलसँगको सम्बन्धको कारण श्रीलंकाली नायिका ज्याकलिन यस मुद्दामा मुछिएकी हुन् ।
गत अगस्त २४ मा चेन्नईस्थित लिनाको घरमा छापा मारेर एजेन्सीले ८२.५ लाख रकम तथा दर्जनौँ महँगा गाडी बराबद गरेको बताएको छ । दिल्ली प्रहरीले २ सय करोड रुपैयाँ ठगी र फिरौतीको उजुरी दर्ता गरेको आधारमा यो छानबिन अघि बढाइएको प्रहरीले बताएको छ ।
चन्द्रशेखर १७ वर्षको उमेरदेखि अपराधको दुनियाँमा प्रवेश गरेको यो सबै घटनाको मास्टरमाइन्ड रहेको ईडीले बताएको छ । उनीविरुद्ध अन्य दर्जनौँ मुद्दा पनि रहेको भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।