भूपि पुरस्कारका लागि आवेदन माग
बागलुङ । धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले यस वर्ष प्रदान गरिने संस्थागत तर्फको ‘भूपि पुरस्कार’ का आवेदन माग गरेको छ । आगामी पुस १० गते ८७औँ भूपि जयन्ती समारोहमा प्रदान गरिने सो पुस्कारका लागि यही मङ्सिर मसान्तभित्र प्रतिष्ठानमा आइपुग्ने गरी आवेदन आह्वान गरिएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले जानकारी दिए ।
नगद २५ हजार रुपैयाँ राशिको उक्त पुरस्कार साहित्यिकसांस्कृतिक संस्था र स्रष्टालाई आलोपालो गरी बर्सेनि प्रदान गर्ने गरिएको छ । भूपि शेरचनका नाममा पुस्तकालय, वाचनालय, विद्यालय, प्रतिमा, अक्षयकोष निर्माणलगायत प्रवर्द्धनात्मक कार्य गरिरहेको संस्थाले आफ्नो विवरणसहित आवेदन पठाउन सक्ने अध्यक्ष रोशनले बताए ।
यसअघि विसं २०७६ मा संस्थागत तर्फको पुरस्कार थकाली समाज बुटवलले पाएको थियो । सो समाज बुटवलमा भूपिको स्मृतिमा प्रवेशद्वार, सालिक, पुस्तकालय र अक्षयकोष स्थापना गरी भाषा, साहित्यको उत्थानमा क्रियाशील छ । प्रतिष्ठानले स्रष्टातर्फ गत वर्षको भूपि पुरस्कार स्याङ्जामा जन्मिएका लेखक एवं समालोचक सुकुम शर्मालाई प्रदान गरेको थियो। ‘सिर्जनाका परिधिमा भूपि शेरचन’ समालोचनात्मक कृतिका लागि उनी पुरस्कृत भएका हुन् ।
प्रतिष्ठानले जनस्तरबाट सहयोग जुटाएर विसं २०७३ मा पुरस्कार कोष स्थापना गरेको थियो । कोषको ब्याजबाट पुरस्कार सञ्चालन हुँदै आएको प्रतिष्ठानले जनाएको छ । पहिलो भूपि पुरस्कार विसं २०७५ मा साहित्यकार एवं त्रिभुवन विश्वविद्यालयका तत्कालीन शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठीलाई प्रदान गरिएको थियो ।