भरतपुरको मेयरका बागी उम्मेदवार पौडेलले फिर्ता लिएनन् उम्मेदवारी


वैशाख १६, काठमाडौँ । भरतपुर महानगरको मेयरमा काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले आफ्नो उम्मेदवारी फिर्ता लिएनन् । निर्वाचन आयोगले शुक्रबार ५ बजेसम्म दिएको उम्मेदवारी फिर्ता लिने समय सकिदासम्म पौडेलले आफ्नो उम्मेदवार फिर्ता नलिएपछि अब भरतपुर महानगरको निर्वाचन थप रोचक हुने भएको छ।

पौडेलले काँग्रेसले गठबन्धनबाट माओवादी केन्द्रलाई मेयर पद दिएको विरोधमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् । काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पौडेलको उम्मेदारी फिर्ता गर्न गरेका सबै प्रयास असफल भएका छन् ।

पौडेललाई फकाउन प्रधानमन्त्री देउवाका दूत बनेर पुगेका गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठको पौडेलको उम्मेदवारी फिर्ता गराउने प्रयास पनि असफल भएको छ। खाँण र श्रेष्ठले पौडेलको घरमै पुगेर उम्मेदवारी फिर्ता लिन गरेको आग्रहलाई उनले अस्वीकार गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?