चुनावकै मुखमा सत्तारुढ-एमाले, माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप


वैशाख २८, काठमाडाैँ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलका नेताहरूबीच भएका झपडका घटनाहरू बढेका छन्। दुई सातायता भएका हिंसात्मक घटनामा राजनीतिक दलका नेताहरुको संलग्नता देखिएको हो। प्रहरी प्रधानकार्यालयका अनुसार दुई सातायता डेढ सयभन्दा बढी कुटपिट र विवादका घटना भएका छन्।

मंगलबारमात्र तनहुँ, दार्चुला, स्याङ्जा र प्युठानमा राजनीतिक दलका कार्यकर्ताबीच झडप भए। ३० वैशाखमा स्थानीय तह निर्वाचन हुँदै छ। तर, राजनीतिक दलका कार्यकर्ताहरुबीच भने झडपका घटना बढेका छन्। मंगलबार तनहुँको भिमादमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा सात घाइते भए।

मंगलबार साँझ दार्चुलाको दुहु गाउँपालिका ५ का एमालेका वडा अध्यक्ष पदका उम्मेदवार मानसिंह बडालमाथि कुटपिट भयो। सत्तरुढ गठबन्धनका कार्यकर्ताको कुटपिटबाट घाइते उनको जिल्ला अस्पताल दार्चुलामा उपचार गरेपछि थप उपचारका लागि राति नै धनगढी पठाइएको थियो। सो घटनामा घाइते भएका अन्य दुईजनाको अवस्था भने सामान्य रहेको छ।

प्युठानको नौबहिनी गाउँपालिका–८ फोप्लीमा मंगलबार नै एमाले र सत्तारुढ गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा दुईजना घाइते भएका छन्।


सोमबार महोत्तरी, मकवानपुर, गुल्मी, रुकुमपश्चिम, रुपन्देही, दैलेख, बैतडीसहित जिल्लामा झडपका घटना भए। महोत्तरीको रामगोपालपुर– ७ मा एमाले र माओवादी कार्यकर्ताबीच झडप भएको थियो भने मकवानपुरको बकैया गाउँपालिका–७ मा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा दुईजजना घाइते भएका थिए।

गुल्मीमा कांग्रेस र माओवादी कार्यकर्ताबीच सोमबार कुटाकुट भयो। झपडमा परेर माओवादीका गाउँपालिका कमिटीका अध्यक्ष लिलबहादुर केसी घाइते भए।

रुकुमपश्चिमको आठबिसकोट नगरपालिका– १० मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार चक्र कुमारीले प्रचारमा प्रयोग गरेका मोटरसाइकल माओवादी कार्यकर्ताले तोडफोड र आगजनी गरेपछि दुवै पक्षबीच झडपको अवस्था सृजना भयो। पछिल्ला केही दिनयता रुकुमपश्चिममा दैनिकजसो विवाद र झडप भइरहेका छन्।

यस्तै सोमबार नै रुपन्देहीको बुटवलमा वडा नम्बर १२ का अध्यक्ष उम्मेदवार देवीप्रसाद रेग्मीको बा.२०च ६७८५ नम्बरको गाडीमा आक्रमण भयो। दैलेखको आठबिस नगरपालिका–४ मा एमालेका उम्मेदवारले चुनावी प्रचारका लागि प्रयोग गरेको बा.१९च ५५७९ नम्बरको गाडीमा आगजनी भयो।

बैतडी डिलासैनी गाउँपालिकाको अध्यक्षको उम्मेदवार रहेका माओवादीका लोकेन्द्र राना कुटपिट गरेको आरोपमा पक्राउ परे। चुनावको मिति नजिकिँदै जाँदा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुबीच झडप भएका हुन्। उम्मेदवार चयनदेखि प्रचारप्रसारका विषयमा विवाद हुँदा कुटपिट, विवाद र झडपका घटना भएका हुन्।

निर्वाचनमा सहभागी भएका दलहरुबीचकै झडपको अवस्थाले प्रहरीलाई चुनौती थपेको छ। यसअघिका निर्वाचनमा भूमिगत समूहबाट सुरक्षा चुनौैती रहेको निष्कर्षसहित रणनीति तय गरेको प्रहरी यसपटक निर्वाचनमै सहभागी झडप नियन्त्रणमा खटिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?