तयार भयो तारजाली र सिसीटिभी क्यामेरा सहितको मतगणना स्थल


वैशाख ३०, पोखरा । पोखराको मतगणना स्थल तयार भएको छ। यसपालि पोखराका उम्मेद्वारको मतगणना १० ठाउँबाट गर्ने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले व्यवस्थापन मिलाएको छ।

जिल्ला समन्वय समितिको भवन र उपत्यका नगर विकास समितिको भवनबाट मतगणना गर्न लागिएको हो। यसअघिको चुनावमा नगर प्रशिक्षण केन्द्रको भवनमा मतगणना गरिएको थियो।

त्यहाँ अहिले प्रदेशसभा बसेका कारण जिससमा गणना गर्न लागिएको हो। गणनास्थलमा सिसिटिभी क्यामेरा जडान गरिएको छ भने फड्किन नमिल्ने गरी तारजाली लगाइएको निर्वाचन अनुगमन अधिकृत निल पनेरुले जानकारी दिए।

‘गणनास्थलको सुरक्षा कडा छ। तारबार र क्यामेरा राखिएको छ,’ उनले भने, ‘कोही प्रतिनिधि फड्किएर मतपत्र भेट्न सक्दैनन्।’ उनका अनुसार मतपेटिका संकलन गर्ने ठाउँ समेत तयार भएको छ।

३ वटा कोठामा मतपेटिका राखिने पनेरुले जानकारी दिए। शुक्रबार राती १२ बजेसम्म सबै मतपेटिका संकलन भैसक्ने र शनिबार विहान ७ बजेदेखि गणना सुरु हुने बताइएको छ। यद्यपी सर्वदलीय बैठकबाट समय हेरफेर हुन सक्छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?