अछामका दुई वडामा कांग्रेस र माओवादी विजयी
वैशाख ३१, अछाम । अछाम जिल्लामा वडा तहको मतपरिणाम आउन सुरु भएको छ। अहिलेसम्म एउटा वडामा नेकपा माओवादी केन्द्र र अर्काेमा कांग्रेस विजयी भएकाे छ। जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर १ मलातीकोटमा माओवादीका चक्र साउदको प्यानल विजयी भएकाे छ भने कमलबजार नगरपालिका वडा नम्बर १० मा कांग्रेसका भिमबहादुर बिष्ट विजयी भएका छन् । साउदले ५ सय १९ मत पाएका छन्।
सो वडामा माओवादीकै नरराज खनाल, लाली भण्डारी, डम्बरा साउद र जमुना विक सदस्यमा विजयी भएका छन्। यो वडाबाट गाउँपालिका अध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रलाई ५ सय १० र उपाध्यक्षलाई ४ सय ५९ मत प्राप्त भएको छ।
यसैगरी कमलबजार नगरपालिका वडा नम्बर १० मा कांग्रेसका भिमबहादुर बिष्ट विजयी भएका छन्। उनले ४ सय ५२ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवारले ३ सय ४६ मत ल्याएर पराजित भए।
अछाममा मतगणना भइरहेका दुई गाउँपालिका र एक नगरपालिकामध्ये कमलबजार नगरपालिका र बान्नीगढी जयगढ गाउँपालिमा कांग्रेसले अग्रता लिएको छ भने रामारोशन गाउँपालिकामा माओवादीको अग्रता छ। जिल्लाको मंगलसेन नगरपालिका, ढकारी गाउँपालिकालगायतका केहि स्थानीय तहमा पनि मतगणनाको तयारी भइरहेको छ।