बालेनको क्रेजः काठमाडौँमा बढ्यो चश्माको बिक्री, अनलाइनमा लौरो व्यापार


Photo credit: Gyapu.com

जेठ ११, काठमाडौँ । काठमाडौँको मेयर पदको मतगणना लगभग अन्तिम चरणमा पुगेको छ। अहिलेसम्म करीब १ लाख ७० हजार मत गणना सकिएको काठमाडौँ महानगर निर्वाचन कार्यालयले जानकारी दिएको छ।

अहिलेको अवस्थासम्म काठमाडौँको मेयर पदमा स्वतन्त उम्मेदवार बालेन्द्र साह ९बालेन०ले अग्रता बनाइरहेका छन्। मतगणना सुरू भएको दिनदेखि नै अग्र स्थानमा रहेका बालेनले अहिलेसम्म पछि फर्केर हेर्नु परेको छैन।

उनले करीब २० हजार बढीको मतको अग्रता कायम नै राखेका छन्।

बालेनसँगका प्रतिस्पर्धि नेपाली कांग्रेसकी सिर्जना सिंह र नेकपा एमालेका केशव स्थापित क्रमशः दोश्रो र तेश्रो स्थानमा छन्। अहिले काठमाडौँको मेयरका लागि भएको यो दौड बडो रोचक रूपमा हेरिएको छ।

बालनले २०७४ सालको स्थानीय तहको चुनावमा नै काठमाडौँको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए। त्यतिबेला नेपाली राजनीतिज्ञहरू कसैको भर नलाग्ने भएका कारण भोट नदिएको उल्लेख गरेका बालेनले २०७९ सालको निर्वाचनमा आफैँलाई भोट हाल्ने खुलस्त पारेका थिए।

सोही घोषणा अनुसार गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा बालेनले उम्मेदवारी दिए, भोट हाले र अहिले मेयर पदका लागि ठूलो मतान्तरसहित अग्र स्थानमा छन्।

र्याप ब्याटलबाट चर्चा कमाएर र्यापमा लागेका उनका लोकप्रीय गीतहरू युट्युबमा सार्वजनिक छन्। पहिल्यै लाखौँ भ्युज पाएका गीतहरूले मेयरको उम्मेदारी घोषणा र मतगणनामा अग्रता लिएसँगै थप भ्युज बटुलिरहेका छन्।

र्यापमा चर्चित बालेनको खास एउटा पहिचान छ, त्यो हो कालो चश्मा। जहाँ जाँदा पनि उनी कालो चश्मा मै देखिन्छन्। र्यापमा भिडियो देखि लिएर टिभि अन्तर्वार्तामा पनि उनी चश्मा मै देखिन्छन्।

त्यस्तै, मेयर पदका लागि भोट माग्न घरदैलो पुग्दा पनि उनी कालो चश्मा, कालो प्यान्ट, कालै टिसर्ट र मरून कोटमा देखिए। मानिसहरूले यही आवरणबाट उनलाई प्रस्ट रूपमा चिनिरहेका छन्।

अहिले यही कालो चश्मा चर्चाको विषय बनेको छ। मत गणना भइरहेको राष्ट्रिय सभागृह अगाडी समर्थकहरूले नारा नै लगाउँछन् ’बालेन दाइको चश्म, भ्रष्टचारी भष्म।’

समर्थकको नारामा मात्रै सिमित नभएर अहिले बालेनको चश्मा अनलाइन मार्केटहरूको ’प्रोमोशनल कन्टेन्ट’ पनि बनेको छ। केही दिन अगाडी नेपालको चर्चिच अनलाइन स्टोर Gyapu.com ले बालेनको चश्मा र उनकै तस्बीरको अवतार बनाएर एउटा ग्राफिक्स सोसल मिडियामा पोस्ट गरेको थियो।

ग्यापुले ’बालेन दाइको जस्तै चश्मा’ भन्ने ट्यागलाइन सहित अनलाइनमा चश्मा बिक्रीका लागि राखेको थियो। उक्त चश्माको मूल्य ८९९ रूपैयाँ तोकिएको थियो ।

अनलाइनका अलावा अहिले काठमाडौँका चश्मा पसलहरूमा त्यस्तै चश्माको माग बढिरहेको व्यवसायिहरू बताउँछन्। काठमाडौँको कोटेश्वरमा चश्मा पसल सञ्चालन गरिरहेका रामकृष्ण थापाले अहिले बजारमा चश्माको माग थेगिनसक्नु भएको बताए। ग्राहकको माग अत्यधिक भएका कारण अर्डर पुर्याउन नसकेको उनले बताए।

लौरो पनि अनलाइन मै
स्वतन्त्र रूपमा उम्मेदवार उठेका बालेनले निर्वाचन चिन्ह लौरो पाएपछि उनि आँफैले नारा बनाए। उनले बनाएको ’बा आमालाई टेकाउन मिल्ने, भ्रष्टचारीलाई सेकाउन मिल्ने’ नाराले ठूलै चर्चा पायो।

लौरो चिन्ह पाएपछि उनि चुनावी प्रचारमा लौरो नै बोकेर हिड्न थाले। उनका समर्थकहरूको हातमा पनि लौरो देखिन्थो। अहिले लौरोको चर्चा चुलिएसँगै लौरो पनि अनलाइन मार्केटमा बिक्रीका लागि राखिएको छ।

नेपालको चर्चित सेकेन्ड ह्याण्ड सामान किनबेच हुने अनलाइन साइट हाम्रो बजार डट कमले लौरो बिक्रीका लागि भएको जानकारी दिएको थियो। हाम्रोबजारले लौरोको विज्ञापन राख्दै त्यहाँ दिइएको लिंकबाट लौरो अर्डर गर्न सकिने जानकारी दिएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?