पान पसलको भेटले चम्किएका अभिनेता प्राण
जेठ २१, काठमाडौँ । यो कुरा सन् १९३८ को हो। लाहोरको एक पान पसलमा उभिएका अभिनेता प्राणलाई जो व्यक्तिले भेटे, तिनै व्यक्तिले उनको भाग्य चम्काइदिए। उनी पान पसलमा उभिइरहँदा स्क्रिप्ट लेखक वली मुहम्मद वली पान खान त्यहाँ पुगेका थिए।
वली एक पञ्जावी फिल्ममा खलनायकको भूमिकाका लागि एक युवा अनुहारको खोजिमा थिए। त्यही बेला वलीको नजर प्राणमाथि पर्यो र उनीप्रति चासो राखे।
वलीले प्राणसँग कुराकानी अगाडि बढाए र एक सानो कागजमा आफ्नो ठेगाना लेखेर प्राणलाई दिँदै आफूलाई भेट्न भने। तर, प्राणले वली र उनले दिएको कागजको टुक्रालाई वास्ता नगरी ‘के म तपाईंको नाम थाहा पाउन सक्छु?’ भनी प्रश्न गरे। वलीले ‘वली’ भनेपछि प्राणले ‘आधा रातमा केही घुरेपछि जोकोही आफूलाई वली नै सम्झन्छन्’ भन्दै आफ्नो बाटो लागे।
त्यसको केही दिनपछि जब वलीको भेट प्राणसँग पुनः भयो, त्यो बेला वलीले प्राणलाई उनीसँगको भेट सम्झाइदिए र आफूलाई भेट्न किन नआएको भन्दै प्रश्न गरे। त्यसपछि प्राणले आफूलाई भेट्न खोजेको कारण सोधे। वलीले प्राणलाई ‘फिल्ममा काम गर्छौ?’ भनेर सोधेपछि उनी केही बोलेनन्। तर, उनलाई भेटन सहमत भए।
अन्ततः जब वलीसँग प्राणको भेट भयो, त्यो भेटपछि प्राण वलीको फिल्ममा काम गर्न ईच्छुक भए। त्यही इच्छाअनुरुप उनले पञ्जावी फिल्म ‘यमला जट’बाट फिल्मी यात्रा सुरु गरे।
यो फिल्मपछि प्राणले वलीलाई आफ्नो गुरु माने। प्राणले पितालाई आफूले फिल्ममा अभिनय गरेको कुरा सुनाएनन्। पत्रिकामा पहिलो अन्तर्वार्ता प्रकाशित हुँदा उनले पत्रिका लुकाएका थिए।