पूर्व पत्नी किरणको ‘लापता लेडिज’ मा अस्वीकृत भए आमिर
साउन २५, मुम्बई । अभिनेता आमिर खानसँग अलग भएपछि उनकी पूर्व पत्नी किरण राव पुनः एकपटक फिल्म निर्माणको दुनियाँमा फर्कंदैछिन्। उनी फिल्म ‘लापता लेडिज’ बनाउँदैछिन्।
किरणले निर्माण गरेको पहिलो फिल्म ‘धोबीघाट’ थियो। सन् २०१० मा रिलिज यो फिल्म बक्स अफिसमा पर्न असफल भएको थियो।
यो फिल्ममा आमिरसँगै प्रतीक बब्बर र मोनिका डोगराको अभिनय थियो। तर आमिरको उपस्थितिले दर्शकलाई हलमा तान्न सकेन। ‘लापता लेडिज’ नामअघि यसको नाम ‘लापता लड्की’ राखिएको थियो। तर स्क्रिप्टमा केही परिवर्तन गरिएपछि नाम पनि फेरियो।
फिल्मका कलाकारको कास्टिङका लागि किरणले अडिसन लिएकी थिइन्। त्यो समय आमिर आफ्नो फिल्म ‘लाल सिंह चड्डा’ को सुटिङमा व्यस्त थिए। त्यहीबेला उनले फिल्मका लागि अडिसन दिएका थिए, तर किरणले उनको अडिसनलाई स्वीकारिनन्।
‘स्क्रिन टेस्टपछि किरण र मैले म यो फिल्मका लागि फिट छैन भन्ने कुरामा सहमति जनायौं। त्यसपछि मैले किरणलाई तिमीलाई अन्तिम समयसम्म पनि कुनै कलाकार मिलेन भने म काम गर्नेछु भनें’, आमिरले भनेका छन्। ‘लापता लेडिज’ले एक गाउँको दुई बेहुलीको कथा बोल्नेछ, जो एकसाथ गाउँबाट गायब हुन्छन्। फिल्ममा रवि किशन, स्पर्श श्रीवास्तव र छाया कदम प्रमुख भूमिकामा छन्।