किन पछि हट्यो लाल सिंह चड्ढाबाट नेटफ्लिक्स ?
भदौ ५, मुम्बई । आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ले बक्सअफिसमा खासै कमाल देखाउन सकेको छैन। सन् १९९४ मा रिलिज हलिउड फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक यो फिल्ममा अद्वैत चन्दनको निर्देशन छ।
रिलिजअघि फिल्मले बक्सअफिसमा ब्लकबस्टर व्यापार गर्नेमा भविष्यवाणी गरिएको थियो। तर, रिलिजपछि यताको रिपोर्ट हेर्दा फिल्मको कमाई चिन्ताजनक छ।
यो फिल्म ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज हुने चर्चा भइरहँदा नेटफ्लिक्स फिल्म रिलिज गर्नबाट पछि हटेको छ। यो फिल्म रिलिजको १० दिन पूरा भएको छ, तर यसको कमाई भने ५५ करोडभन्दा माथि छैन। आमिरले फिल्मलाई डिजिटल प्लेटफर्ममा रिलिज गर्नका लागि निक महंगो रकम माग गरेका थिए।
‘आमिर नेटफ्लिक्समा फिल्मको स्ट्रिमिङ गर्न निकै उत्साहित थिए। उनी आफ्नो फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा लैजान चाहन्थे। जसका लागि उनले नेटफ्लिक्ससँग १५० करोड रुपैंयाँको माग गरेका थिए। नेटफ्लिक्ससँग यो कुराबारे छलफल जारी थियो। आमिरले आफ्ना पछिल्ला फिल्मको उदाहरण दिँदै नेटफ्लिक्ससँग कुराकानी गरिरहेका थिए’, स्रोतले भनेको छ।
आमिर हलमा फिल्म रिलिज भएको ६ महिना पछि ओटीटीमा फिल्म ल्याउन चाहन्थे। आमिरलाई थिएट्रिकल र ओटीटी रिलिजको अन्तरलाई काम गर्नका लागि नेटफ्लिक्सले मनाउने काम गरिरहेको थियो। नेटफ्लिक्सले आमिरलाई ८० देखि ९० करोड रुपैंयाँ दिन तयारी गरेको थियो। तर आमिर भने आफ्नो बोलीबाट कहिल्यै पछि हटेनन्।
आमिरले फिल्मलाई बढीभन्दा बढी रकममा बेच्ने प्रयास जारी राखे। उनले अहिले पनि नेटफ्लिक्सलाई १ सय २५ करोड मागिरहेका थिए। आमिर आफ्नो फिल्मले घरेलु बक्सअफिसमा ३ सय करोडभन्दा बढी व्यापार गर्छ भन्नेमा ढुक्क थिए। त्यहीकारण उनले रिलिज अघि डिजिटल अधिकार कसैलाई दिएका थिएनन्।