हस्तकलाबाट नाम र दाम कमाउँदै लोककुमारी
भदौ १०, लमजुङ । मध्यनेपाल नगरपालिका-६, भोर्लेटारको सडक आडैमा छ लोककुमारी हस्तकला उद्योग। यस उद्योगकी सञ्चालक लोककुमारी गुरुङ दुरा दिनभरी यही उद्योगमा भेटिन्छिन्। उनी उद्योगमा आफै चर्खा चलाउँने, धागो उत्पादन गर्ने गर्छिन्। साथै, अल्लोको भाङ्ग्रा, जुहारी कोट र ऊनको पछ्यौरी आफै बनाउछिन्।
उद्योगमा उनीसँगै अन्य नौ जना स्थानीय महिला पनि सीप सिक्दैछन्। उनीहरूलाई बाग्लुङकी प्रशिक्षक बीना पुनले हस्तकलाका सामान बनाउने सिप सिकाउँदैछिन्। सिप सिकेर उनीहरू पनि व्यावसायिक रुपमा विभिन्न हस्तकलाका सामान उत्पादनमा लाग्ने लोककुमारीको भनाइ छ।
‘पहिले त हातमा सीप चाहियो। अहिले सिप सिक्दै छौँ,’ उनले भनिन्, ‘सिप सिकेपछि विभिन्न सामान बनाएर बेच्ने र यसैबाट आम्दानी गर्ने लक्ष्य छ।’ फुर्सदको समय उपयोग गर्दै हस्तकलाका सामान बनाएर बिक्री गर्नसके मनग्य कमाउन सकिने उनी बताउँछिन्। उनले भनिन्, ‘त्यसैले मसँगै अन्य नौ जना दिदीबहिनी पनि सिप सिक्दै छन्। साथमा भाङ्ग्रा, जुहारी कोट र ऊनको पछ्यौरी बनाउँदैछन्।’
पाँच लाख लगानीबाट उद्योग सुरु
१५ फागुन ०७५ मा पाँच लाख लगानीमा लोककुमारीले उद्योग सुरु गरेकी हुन्। सुरुमा एक सय केजी अल्लो, धागो उत्पादनका लागि १० वटा खुट्टे चर्खा र दुई वटा हातेचर्खा ल्याएर उद्योग अघि बढाएको उनले बताइन्।
सुरुमा उद्योगमै प्रशिक्षक ल्याएर हस्तकलाका सामान बनाउने सिप सिकेको उनले बताइन्। सिप सिक्नका लागि उनीसँगै अन्य १४ जना स्थानीय महिला सहभागी थिए। स्थानीय महिलालाई सिप सिकाएर व्यावसायिक कर्ममा लागि आफूसँगै अन्य महिलाको आर्थिकस्तर माथि उकास्नका लागि उद्योग सुरु गरेको उनी बताउँछिन्। ‘गहना धितो राखेर पाँच लाख लगानीमा यो उद्योग सुरु गरेकी हुँ,’ उनले भनीन्, ‘उद्योगमा अहिले झण्डै १० लाख लगानी भइसकेको छ।’
हस्तकलाका सामानको माग र मूल्य राम्रो
लोककुमारीका अनुसार बजारमा अल्लोको भाङ्ग्रा, जुहारी कोट र ऊनको पछ्यौरीको माग र मूल्य दुवै राम्रो छ। अबको ६ महिनाभित्रमा २(३ सय भाङ्ग्रा, जुहारी कोटका साथै झण्डै १२ सय ऊनको पछ्यौरी बनाएर बेच्ने आफ्नो लक्ष्य रहेको उनी बताउँछिन्।
उत्पादित सामान भोर्लेटारसँगै लमजुङका विभिन्न ठाउँ, तनहुँको दमौली र पोखरामा बिक्री हुनेमा उनी बताउँछिन्। उद्योगको उत्पादन विदेशसम्म पुराउने उनको सपना छ। सिप सिक्ने, सिकाउने र आफूसँगै महिलालाई उद्यमी बनाउने काममा जुटेकी लोककुमारीलाई सासु, ससुरा, श्रीमानसँगै छोराछोरीको पनि साथ छ। ‘उद्योगलाई अघि बढाउन परिवारसँगै समुदायको पनि हौसला र साथ मिलेको छ,’ उनले भनिन्, ‘महिलालाई सिप सिकाउनुका साथै सिप सिकेका केही महिलालाई रोजगारी दिने लक्ष्य छ।’