‘रामलाल जोशीको ‘बाआमा’ मेरै बारे लेखिएको त होइन लाग्छ, शब्दमा निकै शक्ति छ’
भदौ १७, काठमाडौँ । प्रज्ञा डबलीमा शुक्रबार साहित्यकार, कलाकार र राजनीतिज्ञ एकै मञ्चमा थिए। उनीहरूलाई एकै मञ्चमा उभ्याउने काम गरेको हो मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीको कथाकृति ‘बाआमा’ले। जोशीले नयाँ कृति ‘बाआमा’ बजारमा ल्याएका छन्।
बुकहिल प्रकाशक रहेको ‘बाआमा’लाई शुक्रबार नेपाली कांग्रेसका महामन्त्री गगन थापा, महानायक राजेश हमाल, साहित्यकार नयनराज पाण्डे र सगुना शाहाले संयुक्त रूपमा विमोचन गरे।
कार्यक्रममा बोल्दै नेता थापाले कृतिको खुलेरै चर्चा गरे। पुरै पुस्तक पढेको बताउँदै उनले पात्र र परिवेशको व्याख्या गरे। कथाका प्रत्येक शब्दले आफूलाई छोएको गरे।
‘यो काल्पनिक कथा हो। यसको पात्र चरित्र कसैसँग मेल खाएमा केवल संयोग मात्रै हुनेछ। चलचित्र हेर्दा सबैभन्दा पहिला पर्दामा यो लेखिएको आउँछ। रामलाल जोशीले पनि पुस्तकको आमुखमा लेखेको भए सायद सबैलाई न्याय हुन्थ्यो,’ उनले पुस्तकको चर्चा गर्दै भने, ‘किनकि, ‘बाआमा’ किताब पढ्दै जाँदा यो बाको कथा हो। आमाको कथा हो। र, बाआमाको कथा त्यतिखेर मात्र हुन्छ जतिखेर सन्तानको कथा हुन्छ। सन्तान नभए बा र आमाको कथा हुँदैन। यो कुनै एक जना बाको, एक जना आमाको र एक जना सन्तानको कथा होइन। यो थुप्रै बाहरू, आमाहरू र सन्तानहरूको कथा हो। या तपाईं र मेरो जस्ता धेरैको बाआमाहरूको कथा हो। त्यसैले कथा पढ्दै जाँदा कहीँ मेरै बारेमा अथवा मेरो आफन्तको बारेमा लेखिएको त होइन भन्ने लाग्छ । कतै लेखकले मेरो कुरा थाहा पाएको त होइन भन्ने सम्म हुन्छ।’
लेखक जोशीले सुरुमै बा भनेको विश्वास हो र आमा भनेको यथार्थ भएको कुरा सत्य भएको र सत्यभन्दा ठूलो अरू कुनै शक्ति नहुने टिप्पणी गरेका थिए। पाठकहरूको अगाडि बाआमा पढिरहँदा लेखकले अनेक मौका र चुनौती दिइरहने थापाले बताए। उनले पुस्तक पढ्दै गर्दा त्यस्ता कुराको आभास हुने बताए।
‘ऐना कथा संग्रहमा रामलाल जोशीले हामीलाई सुदूरपश्चिमको पहाड मधेस घुमाएजस्तै बाआमाबाट संसार घुमाउँछन्। सुदूरका पहाडदेखि मधेस मात्रै होइन अमेरिकासम्म पुर्याउँछन्। किनकि बाआमा सुदूरपश्चिममा मात्रै छैनन्, सबैतिर छन्,’ उनले भने। चलचित्र जस्तो लाग्ने कथाहरूको संग्रह एउटा फोटोबाट सुरु भएको उनले बताए।
‘एउटा छोरोले राम र लक्ष्मणको फोटो हेरिरहँदा बाको फोटो किन नभएको होला भनेर सोध्छ। त्यहीनिर कथा टुङ्गिन्छ। आमा भन्छिन्, फोटो राख्नु हुँदैन। किनकि फोटोले कहिल्यै पनि हँसाउँदैन। रुवाउँछ मात्रै। फोटो बोल्दैन। फोटोसँग हामी बोले पनि फोटोले जवाफ दिँदैन। जसले छोडेर जान्छन् त्यसको फोटो राख्नु हुँदैन। फोटो ज्यानमारा हुन्छ। आमाले भनेको त्यही फोटोको कथा छोरोले दोहोराएर भनेर टुङ्गिन्छ,’ कथाका केही अंशलाई सम्झँदै थापाले भने।
बाआमालाई सबैभन्दा बढी माया सन्तानको हुने उनले बताए। ‘सन्तानलाई माया गर्दैगर्दा जब त्यो माया बाआमालाई र सन्तानलाई बाँड्नुपर्छ तब हामीलाई बाआमाको पक्षमा उभिनु पर्छ भन्ने लाग्छ,’ थापाले भने।
महानायक राजेश हमालको तर्क पनि थापाको जस्तै थियो। उनले जोशीको किताब पढ्दै गर्दा आफू धेरै ठाउँमा रोकिएको बताएका थिए। ‘मैले अहिलेसम्म यो पुस्तक ७० प्रतिशत मात्रै पढ्न सकेको छु। धेरै ठाउँमा आफ्नै बाल्यकाल सम्झाउने कथाहरू यसमा छन्। मलाई पहिले पुस्तक पढेर सक्ने बानी थियो। अहिले पात्रहरूले डुबाउँछन्। बाआमाका पात्र र कथावस्तुले पनि मलाई निकै डुबायो र म अघि बढ्नै सकिन। तर, पुरा पढ्ने छु,’ हमालले भने।
उनले आफ्नो आमाको स्मरण गर्दै बाआमाको चर्चा गरेका थिए। हमालले बाआमा निकै उत्कृष्ट र शक्तिशाली पुस्तक भएको टिप्पणी गरेका थिए।
साहित्यकार शाहले पनि कथा संग्रह पढ्दा आफ्नै जीवन भोगाइ पढेझैँ भएको बताएकी थिइन्। ‘मलाई बाआमाका प्रत्येक शब्दरशब्दले छोयो। शब्दरशब्दमा रोए। यो कथा संग्रह पढ्नका लागि दरिलो मुटु चाहिन्छ। यी शब्द मेरो मात्रै नभर सबैको जीवनसँग मेल खान्छन्। यो विषयमा यति शक्तिशाली शब्द लेख्नसक्नु निकै ठूलो न्यायको विषय हो,’ शाहले भावुक हुँदै भनिन्।
कथाकार पाण्डेले पनि पुस्कतकको चर्चा गरेका थिए।