‘आशिकी-३’ मा कार्तिक
भदौ २०, मुम्बई । भूल भुलैया २’को सफलतापछि अभिनेता कार्तिक आर्यनलाई कयौं फिल्मको अफर आइरहेको छ।
हालै मात्र उनले फिल्म ‘आशिकी-३’का लागि अनुराग बसुसँग हात मिलाएका छन्। यो प्रतिक्षित फिल्ममा बलिउडका कयौं स्टारहरुको नाम आइरहेको थियो, तर अब भने यो फिल्म कार्तिकको पोल्टामा परेको छ।
कार्तिकले सामाजिक सञ्जालमार्फत एक पोस्ट सेयर गर्दै यसबारे जानकारी दिएका हुन्। ‘बसु दासँग मेरो पहिलो फिल्म आशिकी-३’, उनले लेखेका छन्। यद्यपि फिल्म निर्माताहरुले प्रमुख अभिनेत्रीको बारेमा कुनै जानकारी दिएका छैनन्। यो एक प्रेमकथाको फिल्म हुनेछ। यसअघिका संस्करणभन्दा यसको कथा केही पृथक हुने निर्माण पक्षको भनाइ छ।
‘आशिकी यस्तो फिल्म हो, जसलाई देखेर म हुर्किएको हुँ र आशिकी ३ मा काम गर्नु कुनै सपना सत्य हुनु जस्तो हो। म यो अवसरका लागि भूषण कुमार र महेश भट्टसँग सहकार्य गर्नका पाउँदा आफूलाई भाग्यशाली ठान्छु। म अनुरागको कामबाट प्रभावित छु र अब उहाँहरुसँग काम गर्न पाउनु मेरो लागि सिकाईको अवसर हो’, कार्तिकले भनेका छन्।
राहुल रोय र अनु अग्रवाल स्टारर ‘आशिकी’ सन् १९९० मा रिलिज भएको थियो। यो फिल्ममा महेश भट्टको निर्देशन थियो। सन् २०१३ मा यसको सिक्वेल ‘आशिकी २’ मोहित सुरीले निर्देशन गरेका थिए। फिल्ममा श्रद्धा कपूर र आदित्य रोय कपुरको अभिनय थियो।