२००६ को त्यो पहिलो ‘नेपाल फेस्टिबल’
असोज २७, मेलबर्न अष्ट्रेलिया । २००५ अक्टोबरमा काठमाडौँमा बृहत गैरआवासिय नेपाली संघ (एनआरएन) ग्लोबल कन्फेरेन्स भयो। उक्त कन्फेरेन्समा अष्ट्रेलियाको विभिन्न शहरबाट प्रतिनिधित्व गर्दै २६ जना सहभागि भएका थिए। त्यतिखेर एनआरएनए अष्ट्रेलियाको अध्यक्ष मन केसी थिए।
कन्फेरेसनमा हरेक देशबाट आएका एनआरएनएका अध्यक्ष तथा प्रतिनिधिले विभिन्न तरिकाले आफ्नो भनाइ राखिरहेका थिए। त्यही अवसरमा अष्ट्रेलियाको तर्फबाट मन केसीलाई पनि आफ्नो भनाइ राख्न स्टेजमा आमन्त्रण गरियो।
मन केसीले स्टेजमा एनआरएनएले अब नेपाली पहिचानलाई विश्वमाझ पुर्याउन, नेपाली भाषा, कला, संस्कृति, परम्परा, खाना, भेषभूषा लगायत नेपाली मौलिकताको प्रबर्द्धन गर्न, नेपालको पर्यटन विकास तथा उद्योग र लगानी भित्रयाउन, नेपाली एकता तथा सद्भावको संदेशलाई विश्वमाझ पुर्याउनु र नयाँ पुस्तालाई नेपालको माटोसंग जोडिराख्नु कस्तो भूमिका खेल्नुपर्छ र यो किन जरुरी छ भन्ने विषयमा चर्चा गरिरएको थिए।
यसै चर्चा विचमा उनले यो सबै कुरालाई जोड्न एनआरएनले आफ्नै सिङ्नेचर कार्यक्रम ल्याउनु पर्ने बताए। अनि सबैको अगाडि नेपाल फेस्टिबलको अवधारणा प्रस्तुत गरे। जुन अवधारणा सबैको लागि नौलो र रोचक भइदियो।
उनले त्यतिखेर नेपालीहरु विश्वको कुनै पनि ठाउँमा पुगेता पनि आफ्नो संस्कृति र मौलिकतालाई जोगाउन प्रयासरत रहने र नेपाल फेस्टिवल आयोजना गर्दा यो नेपालीको पहिचान साराले थाहा पाउने कुरा अघि सारे । कुरै कुरामा उनले आफ्नो टिमले यस्तो कार्यक्रम आयोजना गर्दा पूर्ण साथ दिने र सबैले सकारात्मक तरिकाले हेर्ने पनि भनिदिए।
यो सँगै उनले भने, नेपाली भाषा, संस्कृति र मौलिकताको सम्बर्द्धन तथा प्रबर्द्धनको खाँचो बढ्दै गएको र विदेशमा रहने सबै नेपाली, नेपाली समुदाय, विभिन्न संस्था, नेपाली भाषा, संगीत, नृत्य विद्यालय, नेपाली साहित्यिक संघसंस्था, दोश्रो, तेस्रो पुस्ता आदि सबैजना नेपाली संस्कृतिलाई जोगाउनु पर्छ भन्ने पक्षमा छन् र यसमा एनआरएनए संस्थाले ठूलो भूमिका खेल्नै पर्छ र नेपाल फेस्टिबल जस्तो कार्यक्रम गर्नैपर्छ। र यसको सुरुवात अष्ट्रेलियाबाट नै हुने धोषणा गरिदिए। कन्फेरेन्समा सबैले तालिको वर्षा वर्षाए किनभने मन केसीको यो अवधारणा नौलो र रोचक थियो।
त्यतिखेर उनको अवधारणालाई धेरैले प्रशंसा त गरे तर उनको मनमा भने ठूलो चिन्ता थियो। बाहिरी प्रशंसा बटुलेर हाँसेपनि उनको मनमा ठूलो बोझ रह्यो। त्यसको कारण थियो, उनको नेपाल फेस्टिवलको अवधारणा स्टेजमा बोल्नेक्रममा आफैँ निस्केको थियो। यो विषयमा र यस्तो अवधारणामा न त उनले आफ्नो टिमसँग सल्लाह गरेका थिए न त एकछिन अघिसम्म आफैँसँग पनि छलफल गरेका थिए। नेपाल फेस्टिवलको अष्ट्रेलियाबाट नै सुरु हुन्छ र आफनो टिमले पनि साथ दिने त उनले भने तर टिमले अब कस्तो रियाक्सन दिने हो भन्ने कुरामा उनी आफै कसमकसमा थिए।
नेपाल फेस्टिवलको अवधारणाको बारेमा मनमा धेरै कुराहरु खेलाउँदा उनी नेपालबाट सिड्नी आए र सिड्नी आउनेबित्तिक्कै आफ्नो टिमसँग आफूले स्टेजमा नेपाल फेस्टिवलको बारेमा बताएको कुरा गरे। उनी भन्छन्– “म आफूलाई एकदमै भाग्यमानी अध्यक्ष मान्छु। मलाई मेरो टिमले हरेक स्थिती परिस्थितीमा साथ र सहयोग दिएका थिए। त्यतिखेर पनि मैले त्यसरी बिना सल्लाह त्यस्तो कुरा गरेर आएपछि अष्ट्रेलियामा नै पहिलो फेस्टिवल गर्छु भनेर एकप्रकारको चुनौति दिएपछि यदि मेरो टिमले मलाई साथ नदिएको भए कस्तो नराम्रो हुन्थ्यो। तर मेरो टिमले मलाई पूर्ण समर्थन गर्र्यो अनि मैले भनेजसरी सकारात्मक पनि भए। उनीहरुले बरु नेपाल फेस्टिवलको तयारीमा जुट्यौँ र एउटा इतिहास कोरौँ भनेपनि ममा झन् उर्जा पलायो र अन्तत बोलेको कुरा पुरा गर्दै २००६ साल अप्रिल २९ गते सिड्नीमा अष्ट्रेलियाव्यापी बृहत् नेपाल फेस्टिवलको आयोजना गर्यो। यसरी एनआरएनए संस्था रहेका देशहरुमध्येमा नेपाल फेस्टिवलको आयोजना गर्ने अष्ट्रेलिया पहिलो देश बन्यो।”
पहिलो नेपाल फेस्टिबल सिड्नीको मुटु डार्लिङ्ग हार्वरमा आयोजना गरिएको थियो। डार्लिङ्ग हार्वरमा फेस्टिवल गर्न ठूलै सकस भएको केसी बताउँछन्। उनी भन्छन्, ‘हाम्रो लागि यो फेस्टिवल एउटा पहिलो परिक्षण पनि थियो। हामी कार्यक्रम गर्ने, नेपाली झण्डा फर्फराउने, नेपाली नृत्य, गानाबाजा गर्ने, नेपाली परिकार चखाउने त हो कार्यक्रम सजिलै भइहाल्छ नि भन्ने सोचेका थियौँ तर फेस्टिबल गर्न त्यति सजिलो रहेनछ भन्ने बल्ल ज्ञान बिस्तारै भयो। त्यतिखेर अष्टेलियामा ठूलाठूला इन्सुरेन्स कम्पनीहरु डुविरहेको थिए। नेपाल राजसंस्था तथा राजनैतिक अस्थिरतामा अल्झिरहेको थियो। त्यसैबीचमा पब्लीक लाइविलिटिको कुरा पनि आइरहेको थियो। केही हप्तामा डार्लिङ्ग हार्वरबाट भेन्यूको चार्ज ८४ हजार आयो। भेन्यूलाई यतिधेरै लाग्छ भनेर हामीले सोचेकै थिएनौँ। त्यतिखेर अहिले जस्तो नेपालीहरुको विजनेस फस्टाएको पनि थिएन। त्यसैले पनि स्पोन्सर खोज्न अहिलेको जस्तो व्यापक रुपमा हिड्ने अवस्था पनि थिएन। भेन्यू महँगो भएपछि हामीले त्यतिखेर स्टेट तथा फेडरल मल्टिकल्चर मन्त्री लगायत प्रिमियर अफिस जताततै चिठ्ठी र फेस्टिवल प्रपोजल पठाएर भेन्यूको डिस्काउन्ट तथा अन्य सहयोगको माग गर्यौ। भाग्यवश हामीले भेन्यू फ्रि अफ कस्टमा पायौँ तर भेन्यू सेटिङ्ग, साउण्ड सिस्टम र अरुपनि खर्चहरु गर्दा टोटल १ लाख १० हजार डलर जति खर्च देखियो। त्यतिखेर नेपालबाट हामीले चर्चित गायक राजु लामालाई सित्तैमा बोलाएको थियौ। हामी उहाँप्रति आजसम्म पनि आभारी छौ। तर यो फेस्टिवल उहाँको लागि पनि एकदमै शुभ भयो। उहाँको पहिलोपटक एकै स्थानबाट एकैदिनमा १,२०० आफ्नो गीतको सिडी बेच्नुभएको थियो।’
१५ हजार जनाको सहभागिता भएको उक्त पहिलो नेपाल फेस्टिवल सिड्नीलाई कमन वल्थ, सीक्यूयू र एममाईटीले स्पोन्र्सर गरेका थिए भने अन्य अरु विजनेस हाउस, नेपाली संघसंस्था तथा कति आफैँले पनि सहयोग गरेका थिए। त्यतिखेर खानाको तथा विजनेसको स्टल राख्न मान्छे नआएर वा नपाएर भनौँ, आठ सय बराबरको स्टललाई डिस्काउन्ट गरेर पाँच सय डलरमा घाटा खाएर दिएका थियौँ। अहिलेजस्तो कहाँ स्टलको लागि हारालुस गर्ने स्थिती थियो। मन केसी थप्छन्– प्रिमियरको प्रतिनिधिले त्यतिधेरै मान्छे आजसम्म कुनै पनि फेस्टिवलमा नदेखेको बताएका थिए। नेपालीहरु देखि अन्य मानिसहरुले त्यो फेस्टिवलमा एकदमै रमाईलो गरेका थिए। पहिलो फेस्टिवल सफल भएर नै आजसम्म पनि एनआरएनएले हरेक दुई दुई वर्षमा नेपाल फेस्टिवल हरेक स्टेटमा भव्यताको साथ मनाउँदै आएको छ।
२००६ देखि शुरु भएको यो नेपाल फेस्टिवल आज आएर हरेक स्टेटले भव्यताको साथ मनाउँदै आएको छ। सिड्नीको नेपाल फेस्टिवल सफल भएपछि नेपाल फेस्टिवल हरेक दुई वर्षमा आयोजना गर्ने निर्णय गरियो, जसअनुसार अर्को नेपाल फेस्टिवलको आयोजना सन् २००८ मा गरिएको थियो।
अष्ट्रेलियाका सिड्नी र मेलबर्नमा त्यतिबेला नेपालीहरुको बसाईसराई बाक्लो भइरहेको थियो। जसलाई मध्यनजर गर्दै मेलबर्नमा पनि नेपाल फेस्टिवलको आयोजना गरिएको थियो। मेलबर्नमा पहिलो पटक नेपाल फेस्टिवलको आयोजना गरिंदा नेपाली समुदाय उत्साहित बन्यो र अष्ट्रेलियाका दुई सहरमा नेपाल फेस्टिवलले त्यो वर्ष आफ्नो प्रभाव जनाउन सफल भयो। त्यसपछि विस्तारै ब्रिसबेन, एडिलेड, पर्थ, डार्विनले नेपाल फेस्टिवल मनाउन थाल्यो। यो वर्ष होवार्टले पनि नेपाल फेस्टिवल मनाउँदैछ। त्यसैगरी, अर्को वर्ष क्यानवेरामा पनि नेपाल फेस्टिवल मनाउने तयारी छ।