खोटाङमा गठबन्धनलाई बागीको तगारो, स्वतन्त्रलाई सहयोग नगरे माओवादीलाई असहयोग
असोज २८, खोटाङ । खोटाङमा कांग्रेस नेता धर्मराज पोखरेलको स्वतन्त्र उम्मेदवारी गठबन्धनको अगाडि चुनौती बनेको छ। सिट बाँडफाँड र टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै पोखरेलले प्रदेश (ख) मा गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए।
असन्तुष्ट कांग्रेसकै योजना अनुसार मनोनयन दर्ता गरेका पोखरेल कांग्रेस केन्द्रीय समितिको कारबाही भोग्न तयार भए तर उम्मेदवारी फिर्ता लिन तयार भएनन्। उनी चुनाव चिन्ह पानीको धारा लिएर चुनावी कार्यक्रममा निस्कने तरखरमा छन्।
एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको जिल्लामा प्रतिनिधिसभा वा दुई प्रदेशसभामध्ये एक पाउनुपर्ने माग सुनुवाइ नभएको भन्दै कांग्रेसका पोखरेल सहित पूर्व राज्यमन्त्री सर्वधन राईले प्रतिनिधिसभा र पूर्वसभापति सुवासकुमार पोखरेलले प्रदेशसभा (क)मा उम्मेदवारी दर्ता गरेका थिए। अन्तिममा सर्वधन र सुवासकुमार ‘ब्याक’ हुँदा धर्मराज भने निरन्तर अघि बढेका हुन्।
गठबन्धन अन्तरगत प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका रामकुमार राई (पासाङ), प्रदेशसभा ‘क’मा नेकपा (एकीकृत समाजवादी)का बीरबलकाजी राई र प्रदेशसभा ‘ख’मा कांग्रेसका भूपेन्द्र राई उठेका छन्।
जिल्लामा संगठन बचाउनका लागि स्वतन्त्र उम्मेदवारी दिइएको कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईले बताए। ‘केन्द्रले जिल्लाको गठबन्धनलाई फितलो बनाउने काम गर्यो। रामप्रसाद राईले कुनैबेला विद्रोह गर्न खोजे, भुदेव राईले गर्न खोजे भने हामी पछिल्लो पुस्ता किन चुप बस्छौँ। केन्द्रले डाइलग गर्नुपर्यो, सम्झाउनु पर्यो। अहिलेसम्म केन्द्रले यस बारेमा चासो राखेको छैन,’ सभापति राईले भने, ‘जिल्लाको संगठन बचाउने काम हाम्रो हो। नेतृत्वको भरथेग भएन। त्यसकारण बाध्य भएर आधिकारिक उम्मेदवार उठाएका हौँ। स्वतन्त्र उम्मेदवारलाई जिताउन कम्मर कसेर लागेका छौं।’
पोखरेलको स्वतन्त्र उम्मेदवारी फिर्ता नभएपछि नेकपा (एकीकृत समाजवादी)का बीरबलकाजीलाई प्रत्यक्ष असर पर्ने देखिएको छ । पोखरेलका कारण गठबन्धनका उम्मेदवार असन्तुष्ट छन् भने एमाले उत्साहित छन्।
स्वतन्त्रलाई सहयोग नगरे माओवादीलाई असहयोग
प्रदेशसभा र प्रतिनिधिसभाको सिट बाँडफाँडलाई लिएर खोटाङ कांग्रेसभित्र ध्रुवीकरण भएको छ। अहिले प्रत्यक्ष र समानुपातिकमा टिकट पाउने कांग्रेसका उम्मेदवार र उनीहरू निकट नेता तथा कार्यकर्ता गठबन्धनको पक्षमा देखिन्छन्। अन्य भने स्वतन्त्र उम्मेदवारको पक्षमा देखिन्छन्। आफ्नो स्वतन्त्र उम्मेदवार पोखरेललाई सघाए मात्र प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रलाई सहयोग गर्ने निर्णय गरिएको सभापति राईले बताए।
गठबन्धनको चुनावी कार्यक्रम तय गर्नका लागि बिहीबार आयोजित बैठकमा कांग्रेसले प्रतिनिधि नपठाएको जनाएको छ। ‘जबसम्म प्रदेशसभा (क)को स्वतन्त्र उम्मेदवारलाई सहयोग हुन्न तबसम्म माओवादी केन्द्रलाई पनि सहयोग हुन्न,’ राईले भने, ‘कारबाही प्राविधिक पाटो हो। स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरे भनेर उम्मेदवारले दिएको उजुरी र त्यही अनुसार जिल्लाले फरवार्ड गरेको मान्छेले नै अहिले टिकट लिएर आयो त। कांग्रेसको कारबाहीको नमुना त यही हो।’
जनमत कम भएको नेकपा (एस)लाई प्रदेशसभा (क) दिँदा गठबन्धन सुरक्षित नहुने र प्रतिगमन पनि रोक्न नसकिने असन्तुष्ट कांग्रेसको दाबी छ। निर्णय सच्याउनका लागि गत शनिबार कांग्रेस केन्द्रीय समितिलाई ज्ञापन–पत्र बुझाएको टोलीले आइतबार जिल्लामा फर्किए लगत्तै बैठक राखेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएको थियो। केन्द्रले गरेको गठबन्धनप्रति इमानदार हुनुपर्ने नेकपा (एकीकृत समाजवादी) खोटाङका अध्यक्ष जलसेर राईले बताए। केन्द्रबाट पावर लगाएर भए पनि कांग्रेसको स्वतन्त्र उम्मेदवार ‘ब्याक’ गर्ने विषयमा छलफल सुरु भएको श्रोत बताउँछ।