माओवादीबाट एमाले प्रवेश गरी पार्टीबाटै निकालिएका प्रभु साह को हुन् ?


असोज २८, बारा । एमालेले पार्टी साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका प्रभु साह अहिले चर्चामा छन्।

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट ३ बाट एमालेको टिकट बहिष्कार गरेर स्वतन्त्र उम्मेदवारी दिएपछि साह विवादमा आएका हुन्। पार्टी विरोधी गतिविधि गरेको आरोपमा एमालेले शुक्रबार साहसहित तीन नेतालाई कारबाही गरिसकेको छ।

जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने एमालेकोे निर्णयप्रति असहमति जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएको साहले दाबी गरे पनि यसमा कुनै सत्यता नभएको उनलाई नजिकबाट बुझ्नेहरूले बताएका छन्। राजनीतिक जीवनको सुरुवातदेखि नै साहमा अस्थिर चरित्र हावी हुँदै आएको देखिन्छ।

२०५४ सालको स्थानीय निर्वाचनमा साह एमालेबाटै रौतहटको पतौरा गाविसमा वडाध्यक्षमा निर्वाचित भएका थिए। साविकको पतौरा गाविस उपाध्यक्ष सत्यनारायण राउतलाई २०५७ सालमा तत्कालीन जिविस सभापति राजेन्द्र पटेलको निवासमा कार्यवाहक अध्यक्ष बनाउन उनी हातपातमा समेत उत्रिएका थिए। सोही वर्ष मौलापुर चिरचिरास्थित प्रहरी बस्न छोडेको प्रहरी चौकीमा माओवादीहरूसँग मिलेर आगजनी गरे। त्यही घटना जोडिएपछि उनी फरार भएका थिए। फरार रहेको अवस्थामा उनलाई २०५७ सालमा माओवादीले सम्पर्क गरी आफ्नो पार्टीमा भित्र्याएको हो।

भूमिगत माओवादी पार्टीले उनलाई मधेसी मुक्ति मोर्चामा संगठित गरेर तराईमा खटायो। मधेसका माओवादी नेता मातृका यादव र साहबीच लामो समयसम्म सम्बन्ध कायम रहन सकेन। दुबैबीच टकराव बढ्दै गयो । साह माओवादीभित्रको बाबुराम गुटमा सामेल भए। माओवादीहरूको गुटवन्दीमा साह कमजोर बन्दै गएर पार्टी छोड्ने वा छुट्टै पार्टी खोल्ने विकल्प बारेमा सोच्दै थिए। ठिक यसैवेला नेकपा विभाजन भयो। अवसरको खोजीमा रहेका साहले एमालेबाट राम्रो अफर पाए र उनी एमाले पसे।

एमालेमा केही समय प्रदेश अध्यक्ष भएर प्रदेश सचिव सुमन प्याकुरेलको सहयोगमा उनले एकलौटी रूपमा पार्टी चलाए। मधेस प्रदेशमा रघुवीर महासेठको प्रवेशपछि उनीसँग साहको टकराव बढ्न थाल्यो। त्यसपछि साह अध्यक्षबाट हटाइए र ज्वाला साहले अध्यक्षको जिम्मेवारी पाइन्।

त्यसपछि दुईजनाबीच टक्कर झन् बढ्दै गयो। साह प्रदेश इन्चार्ज भएर पार्टी कब्जा गर्न चाहन्थे। तर पार्टीको दशौं महाधिवेशनपछि रघुवीर महासेठ पार्टी सचिव र इन्चार्जसमेत बनाइए। त्यही दिनदेखि उनको पार्टीबाट बहिर्गमनको तयारी सुरु भएको थियो। अहिले आएर सोही योजनालाई पूर्णता दिइएको रौतहटका एमाले नेता कार्यकर्ता बताउँछन्।

मधेस प्रदेशको इन्चार्ज बनेर शक्तिसहित चलखेल गर्ने योजनामा थिए साह। सोही कारण उनले विधान महाधिवेशन बहिस्कार गरे। केन्द्रीय कमिटी बैठक र धेरैपटक प्रदेश कमिटी बैठकसमेत बहिस्कार गरेर उनले पार्टीभित्र उधुम मच्चाएका थिए। एमालेका महासचिव शंकर पोखरेलले पटक पटक काठमाडौंमै बैठक बोलाएर मनाउने काम गरे। विधान संशोधन गरेर उनका मान्छेहरूलाई केन्द्र र प्रदेशमा राखेको बताइन्छ। अहिले एमालेले साह निकट नेताहरू सबैलाई कारबाही गर्ने तयारी गरेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?