बाआमाको तस्बिरदेखि शहीदको सालिकमा माल्यार्पण गर्दै चुनावी अभियानको थालनी


असोज २९, काठमाडौँ । मुलुक प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा होमिएको छ। मेलापातदेखि चोक चौतारोमा चुनावको चर्चा सुरु भएको छ।

टिकट पाएका उम्मेदवार आफ्नो जीतको सुनिश्चितताका लागि मरिमेटेर घरदैलोमा जुटेका छन्। चुनावी अभियानलाई विशेष र आकर्षक बनाउनका लागि उम्मेदवारहरूले फरक–फरक शैली अपनाएका छन्।

शहीददेखि आफ्नो स्वर्गीय बाबुआमाको तस्बिरमा माल्यार्पण गर्दै उम्मेदवारहरूले आआफ्नो चुनावी अभियानको थालनी गरेका छन्।

एमालेबाट प्रतिनिधिसभा सदस्यमा उठेका विशाल भट्टराई र प्रदेशसभा (ख)बाट उठेका रामप्रसाद दंगालले शहीद मुक्सन किरातको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै आफ्नो चुनावी अभियान सुरु गरेका छन्। शहीद मुक्सन किरातको स्मृति दिवस पारेर दुई उम्मेदवारले असोज २४ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको अर्चलेस्थित समाधिस्थलमा बनाइएको सालिकमा पुष्पगुच्छा चढाएका थिए।

‘प्रतिनिधिसभा सदस्यमा मनोनयन गरेपछि हामीले उनै शहीद मुक्सन किरातकी आमा सम्पूरा राईलाई साक्षी राखेर सालिकमा पुष्पगुच्छा अर्पण गरेर चुनावी अभियानको प्रारम्भ गरेका छौं,’ भट्टराईले फेसबुकमा लेखेका छन्। मुक्सनको द्वन्द्व कालमा २४ असोज २०५९ मा हत्या भएको थियो।

यस्तै, गठबन्धन अन्तरगत कांग्रेसबाट प्रदेशसभा (ख)मा उठेका भूपेन्द्र राईले आफ्नो स्वर्गिय आमाबुबाको तस्बिरमा माल्यार्पण गर्दै चुनावी अभियानको थालनी गरेका छन्। राईले दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित आफ्नो घरको भित्तामा झुण्ड्याइएको आमा गुम्माकुमारी राई र बुबा ध्यानबहादुर राईको तस्बिरमा माल्यार्पण गर्दै चुनावी अभियान थालेका हुन्।

‘मलाई जन्म दिनुहुने बुबा(आमा भौतिक रूपमा हुनुहुन्न। हुनुभएको भए विजयको शुभकामना दिनुहुन्थ्यो,’ राईले फेसबुकमा लेखेका छन्, ‘त्यसैले आमा र बुवाको तस्बिरमा माल्यार्पण गरी आशिरवाद माग्दै चुनावी अभियान सुरु गरेको छु।’ अन्य उम्मेदवारले पनि आआफ्नै शैलीमा चुनावी अभियान थालेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?