उम्मेदवारी फिर्ता लिन राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धिमाललाई खानेपानीमन्त्री चौधरीको धम्की
असोज ३१, बारा । बारा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभाका उम्मेदवार गणेश धिमाललाई उम्मेदवारी फिर्ता लिन नेपाली कांग्रेसका सह-महामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरीले धम्काएका छन्।
यसअघि कांग्रेसको मधेश प्रदेश सदस्य रहेका धिमालले राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा-१ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेपछि मन्त्री चौधरीले फिर्ता लिन धम्की दिएका हुन् । मन्त्री चौधरी सत्ता गठबन्धनको तर्फबाट सोही क्षेत्रबाट उम्मेदवार हुन्।
‘उम्मेदवारी फिर्ता लिएर आफूलाई समर्थन गर्न र अन्यथा आफूले हारे जे पनि हुन सक्ने’ भन्दै मन्त्री चौधरीले शनिवार राति घरमै आएर धम्क्याएको धिमालले बताए। आफूले केही पनि नगर्ने तर आफू पराजित भए मेरा केटाहरूले जे पनि गर्न सक्छन्। त्यसैले उम्मेदवारी फिर्ता लिनोस् भनेर चौधरीले धम्काएको धिमालको भनाइ छ।
राति करिब ११ बजे ५० जना युवाहरूको समुह लिएर धिमालको घरमा पुगेका चौधरीले उम्मेदवारी फिर्ता लिन र सहयोग गर्ने दबाब दिएका थिए।