सर्लाहीमा सहकारी संस्थाका प्रमुखमाथि गोली प्रहार


कार्तिक २, सर्लाही । सर्लाहीको मिलन चोकस्थित एक सहकारी संस्थाका प्रमुखमाथि लुटेरा समूहले दिनदहाडै गोली प्रहार गरेको छ। रकम लुट्ने प्रयास गरेको लुटेरा समूहले सहकारीका प्रमुखमाथि तीन राउन्ड गोली प्रहार गरेको हो।

वागमती नगरपालिका–१ मिलन चोकस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाका सेवा केन्द्रमा बुधबार बिहान साढे १० बजे लुटेरा समूहले गोली चलाएको थियो। भारतीय नम्बरको मोटरसाइकलमा तीन जनाको समूहमा आएको लुटेराले सेवा केन्द्रका प्रमुख लालबन्दी नगरपालिका–२ जुटपानीका ३० वर्षीय साजन कार्कीलाई रकम राखिएको झोला दिन धाकधम्की दिएका थिए। त्यस क्रममा कार्कीले प्रतिकार गर्दा लुटेरा समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

कार्कीको दाहिने पाखुरा, दाहिने कोखा, बायाँ कोखा र दाहिने तिघ्रामा गोली लागेको प्रहरीले जनाएको छ। गम्भीर घाइते उनलाई हरिवनस्थित सरस्वती अस्पतालमा सामान्य उपचारपछि काठमाडौं रेफर गरिएको छ।

कार्की हरिवन बजारमा रहेको मुख्य कार्यालयबाट झोलामा पैसा बोकेर सेवा केन्द्र पुगेका थिए। लुटेराको समूह पुग्नुभन्दा अगावै उनले सो रकम लकरभित्र राखिसकेकाले लुटपाट हुनबाट जोगिएको प्रहरीले अनुसन्धानबाट खुलेको जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान थाल्नुका साथै लुटेराहरूको खोजी गरिरहेको जनाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?