अवैध लागूऔषधसहित ८ जना पक्राउ
कार्तिक ४, काठमाडौँ । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। झापाको भद्रपुर नगरपालिका–८ बाट चार ग्राम ब्राउन सुगरसहित सोही ठाउँ बस्ने २४ वर्षीय आतिस राजवंशीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। कैलालीको गोदावरी नगरपालिका–९ शेरीबाट २५ ग्राम हिरोईनसहित सोही ठाउँ बस्ने खगेन्द्र बोहरालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
प्रदेश प्रहरी कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी कैलालीकै धनगढी उपमहानगरपालिका–२ मिलनचोकबाट ४ ग्राम ५ सय मिलिग्राम हिरोईनसहित गोदावरी नगरपालिका–२ बस्ने २३ वर्षीय समिर बिक समेत ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
धनुषाको जनकपुर उपमहानगरपालिका–८ रामानन्द चोकबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट ९ सय ट्याब्लेट, नाइट्रोजन ३ सय ट्याब्लेट र एग्जिपलोन १ सय एमएलको ५० बोतल सहित औरही गाउँपालिका–२ बस्ने ४० वर्षीय रंजित कुमार मण्डल समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषा र लागूऔषध नियन्त्रण ब्यूरो धनुषाबाट संयुक्त रुपमा खटिएको प्रहरीले बीआर ३२ आर ४४०४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ बसपार्कबाट नियन्त्रित लागूऔषध नुर्फिन ४६ एम्पुल, डाइजेपाम ४६ एम्पुल, फेनारागन ४६ एम्पुल र नगद २३ हजार रुपैयाँ सहित कास्की जिल्ला पोखरा महानगरपालिका–१९ बस्ने २६ वर्षीया सन्तु घर्ति मगरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।
प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।