छिमेकीकाे हत्या गरि फरार रहेका प्रतिवादी १२ वर्षपछि पक्राउ
कार्तिक ६, काठमाडाैँ। छिमेकीकाे हत्या गरेर फरार भएका अर्घाखाँचीका दुई जना व्यक्तिलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ।
अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर–१०, धनचौरका दुई जना फरार प्रतिवादी पक्राउ गरी अर्घाखाँची प्रहरीले आईतवार सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा भूमिकास्थान–१०, धनचौर प्यारे निवासी ४० वर्षीय शालिक बहादुर बुढा र ३६ वर्षीय नारायण बुढा रहेको जिल्ला प्रहरी कार्यालय अघाखाँचीले जनाएको छ। प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालका अनुसार उनीहरू १२ वर्षदेखी फरार रहेका थिए । प्रहरी निरीक्षक अर्जुन पाैडेलकाे नेतृत्वमा खटिएकाे प्रहरी टाेलीले उनीहरूलाई पक्राउ गरेकाे हाे।
गोप्य सूचनाका आधारमा उनीहरूलाई अर्घाखाँची र कपिलवस्तुको सिमानाबाट पक्राउ गरिएको हो। उनीहरू २०६७ साल माघ २५ गते आफ्नै छिमेकी ४० वर्षीय दधिराम भुसालको हत्या गरेर फरार रहेका थिए।
जिल्ला अदालत अर्घाखाँचीले २०७५ असार ३ गते हत्यामा संलग्न ९ जनालाई २० वर्ष कैदको फैसला सुनाएको थियो। जसमध्ये ६ जनाले कैद भुक्तान गरिरहेका छन् भने हत्यामा संलग्न १ जना अझै फरार रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुई जनालाई अदालतमा पेश गरि प्रक्रिया अगाडी बढाइएको छ।