भारतमा आजदेखि मल्लिकार्जुन खड्गेले सुरु गरे कांग्रेसको नेतृत्व
कार्तिक ९, एजेन्सी। २४ वर्षपछि भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्व गान्धी परिवार बाहिर पुगेको छ। बुधबारदेखि कांग्रेसको नेतृत्व मल्लिकार्जुन खड्गेले सम्हालेका छन्।
पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा सोनिया गान्धीले अध्यक्ष खड्गेलाई नेतृत्व हस्तान्तरण गरेकी हुन्। उनले पार्टीको नेतृत्व खड्गेलाई सुम्पन पाउँदा आफूले ठूलो राहतको महसुस गरेको बताएकी छन्।
हालै सम्पन्न अध्यक्षको निर्वाचनमा खड्गेले अर्का प्रतिस्पर्धी शशी थरुरलाई भारी मतले पराजित गरेका थिए। आजबाट कांग्रेसमा खड्गे राज सुरु भएको छ।
अध्यक्षको कार्यभार सम्हाल्दै खड्गेले मजदुर परिवारबाट देशकै सबैभन्दा पुरानो पार्टीको नेतृत्वमा पुग्नु गर्वको विषय भएको बताए। उनले कांग्रेसमाथि निरन्तर रूपमा भइरहेको भ्रमपूर्ण प्रचारको डटेर मुकाविला गर्ने बताए।