विवाहको चार महिनामै आमा बनेकी नयनतारालाई सरकारको ‘क्लिनचिट’
कार्तिक ११, मुम्बई । साउथ अभिनेत्री नयनतारा र निर्देशक विग्नेश शिवन हालै सरोगेसीका माध्यमबाट अभिभावक बनेका थिए।
विवाहको चार महिनापछि नै अभिभावक बनेपछि नयनताराको सरोगेसी मामला विवादमा तानिएको थियो। उनीहरुको विषयलाई लिएर तमिलनाडु सरकारले जाँचबुझ समिति नै गठन गरेको थियो।
अहिले आएर सरकारले यो मामलामा उनीहरुलाई राहत दिएको छ। अनुसन्धानपछि प्राप्त रिपोर्टका आधारमा तमिलनाडु सरकारले नयनतारा र विग्नेशले सरोगेसीमा कुनै पनि नियम नतोडेको उल्लेख गरेको छ। सरकारबाट ‘क्लिनचिट’ पाएपछि विग्नेशले सामाजिक सञ्जालमा खुशी व्यक्त गरेका छन्।
जाँचबुझको क्रममा नयनतारा र विग्नेशले सन् २०१६ मा नै अदालती विवाह गरेको खुलेको थियो। जाँचबुझ रिपोर्टमा सरोगेसी नियममा परिवर्तन हुनुअघि नै उनीहरुले सरोगेसीको प्रक्रिया सुरु गरिसकेको उल्लेख छ। यही कुरालाई आधार मान्दै सरकारले उनीहरुलाई निर्दोष साबित गरेको हो। यद्यपि जोडीको सरोगेसी गराउने अस्पताल भने यो मामलामा फँसेको छ।
जाँचबुझ समितिले सरोगेसीका मामलामा नयनतारा र विग्नेश निर्दोष भए पनि उनीहरुलाई सरोगेसीको सुविधा दिने अस्पतालले नियम मिचेको आरोप लगाएको छ। हालसम्म जोडीको पारिवारिक डाक्टरसँग सम्पर्क हुन नसकेको जनाइएको छ। किनकी डाक्टर हाल भारतमा छैनन्। यो मामलामा सरकारले निजी अस्पताललाई एक सूचना पठाइसकेको छ।
गत अक्टोबर ६ मा विग्नेशले सामाजिक सञ्जालमार्फत आफूहरु जुडुवा सन्तानको अभिभावक बनेको जानकारी गराएका थिए। नयनतारा र विग्नेशले ६ वर्षको डेट पछि सन् २०२२ जून १० मा विवाह गरेका थिए।