कांग्रेसको घोषणपत्र : राज्य चलाउन एमाले असफल, संसद विघटन गर्दैनौँ
कार्तिक १२, काठमाडौँ । नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। शनिबार कांग्रेसले ५२ पेज लामो घोषणापत्र सार्वजनिक गरेको हो।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवासहितका नेताहरुको उपस्थितिमा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको हो।
राज्य सञ्चालन गर्न एमाले असफल भएको आरोप लगाएको कांग्रेसको घोषणापत्रमा संसद विघटन नगर्ने प्रतिबद्धता पनि जनाएको छ।
‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी प्रतिबद्धता’ नाम दिइएको कांग्रेसको घोषणापत्रमा दलीय विवादका कारण संसद विघटन गर्नेजस्ता असंवैधानिक र अलोकतान्त्रिक कदम कांग्रेसले नचाल्ने प्रतिबद्धता जनाइएको हो।
दलीय विवादका कारण संसद विघटन गर्नेजस्तो अलोकतान्त्रिक र असंवैधानिक कदम नचाल्ने प्रतिवद्धता जनाइएको घोषणापत्रमा सार्वजनिक संस्थाहरूलाई दलीय हस्तक्षेपबाट मुक्त गर्ने, नियुक्ति गर्दा विषयगत क्षमता र योग्यता हेर्ने, नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’लाई १०० दिन भित्रै विस्तार गरी कार्यान्वयन गर्ने जस्ता विषय समेटिएको छ।
यसैगरी, सरकारी सम्पत्तिको दुरूपयोग तथा प्राकृतिक स्रोत–साधनको दोहन गर्न नदिने, स्वार्थले द्वन्द्व सृजना हुने कुनै पनि निर्णय वा नीतिगत प्रक्रियामा संलग्न नहुने पनि कांग्रेसको घोषणापत्रमा उल्लेख गरिएको छ।
महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय घोषणापत्र लेखन समितिले तयार पारेको घोषणपत्र सार्वजनिक गरिएको हो।