घोराहिका मतदाता भन्छन्: संविधान मास्नेलाई मत हाल्दैनौं
कार्तिक १३, घोराही । घोराही उपमहानगरपालिका वडा नम्बर ६ का मतदाताले आगामी मंसिर ४ गतेको निर्वाचनमा संविधान मास्ने शक्तिहरूलाई कुनै हालमा पनि मत नदिने बताएका छन्।
प्रतिनिधिसभा दाङ निर्वाचन क्षेत्र नम्बर २ का गठबन्धनका साझा उम्मेदवार रेखा शर्मा र प्रदेशसभा दाङ २ (२) का गठबन्धनका साझा उम्मेदवार प्रचण्ड बिक्रम न्यौपाने ‘गुन्टु’ सँगको भेटमा उनीहरूले एमाले नेतृत्वको गठबन्धनले संविधान, गणतन्त्र र संघीयतालाई नै खारेज गर्ने अभियानमा लागेको आरोप लगाए।
स्थानीय रामकली चौधरीले जनताको ठूलो बलिदानबाट प्राप्त उपलब्धि उल्ट्याउन लागेकाले उसलाई जनताले साथ नदिने बताए। ‘हामीले मुलुकमा शान्ति र समृद्धिको अपेक्षा गरेका थियौं, एमालेले जननिर्वाचित संसदनै मास्न खोज्यो,’ उनले भने, ‘गठन्धनले विकाशको गति अघि बढाउने छ भन्ने हामीले विश्वास गरेका छौं।’
अर्का स्थानीय सुविन पुनले दाङको समृद्धिका लागि गठबन्धनले दीर्घकालीन गुरु योजना बनाउनुपर्ने आवश्यकता औंल्याए। ‘गठबन्धनले निर्वाचनमा बहुमत हासिल गर्छ भन्ने हामीलाई विश्वास छ,’ उनले भने।
अर्का स्थानीय धनपति चौधरीले आफ्नो वडाबाट गठबन्धनलाई अत्याधिक मतले विजयी बनाउने प्रतिबद्धता व्यक्त गरे। प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रेखा शर्माले मंसिर ४ पछि पाँचै वर्ष गठबन्धनको सरकार बन्ने ठोकुवा गरिन्।