निर्वाचनको प्रचारप्रसारमा उत्रेकालाई मौसमको साथ, अबका तीन दिन ठूलो पानी नपर्ने
कार्तिक २८, काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रचारप्रसारमा उम्मेदवारहरु खटिएका छन्।
निर्वाचनको प्रचारप्रसारमा खटिएका नेता तथा कार्यकर्तालाई मौसमले पनि साथ दिएको छ। आगामी तीन दिनसम्म देशभर ठुलो पानी पर्ने सम्भावना छैन, जसले गर्दा उम्मेदवार, नेता तथा कार्यकर्ताहरु निर्धक्क भएर प्रचारप्रसारमा लाग्न पाउने छन्।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको तीन दिन प्रचारप्रसारलाई अवरोध गर्ने गरी देशको कुनै पनि स्थानमा पानी पर्नेछैन।
आज प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका हिमाली भू–भागका एक वा दूई स्थानमा हल्का हिमपातको संभावना रहेकोले पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
मंगलबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
मंगलबार प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने देशको हिमाली भू–भागका एक वा दूई स्थानमा हल्का हिमपातको संभावना छ।
बुधबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १ र गण्डकी प्रदेशको हिमाली भू–भागका एक वा दूई स्थान हल्का हिमपातको संभावना रहेको छ।