बारा प्रदेशसभा-१ (क) : पाँच पक्षीय प्रतिस्पर्धा, कसलाई कति चुनौती ?
कार्तिक २९, बारा । आगामी ४ मंसिरमा हुने निर्वाचनमा बारा प्रदेशसभा–१ (क) मा नेकपा एमालेबाट त्रिलोकीप्रसाद चौधरी, लोकतान्त्रिक बाम गठबन्धनबाट कांग्रेसका रमेश दंगाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी शाह कलवार, स्वतन्त्रका शिवनारायण थारु र एकबहादुर क्षेष्ठबिचच पाँच पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।
०७४ सालमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुँदा यस क्षेत्रमा एमालेका त्रिलेकीले जितेका थिए। गत निर्वाचनमा एमालेको साथमा रहेको माओवादी केन्द्रले कांग्रेसले साथ दिएको छ भने एमालेलाई जसपाको साथ छ।
वैशाख ०७९ मा सम्पन्न स्थानीय निर्वाचनमा एमालेले प्राप्त गरेको मतका आधार हेर्दा माओवादीसँगै नरहदा समेत यस प्रदेशसभामा एमाले बलियो देखिएको छ । साथमा जसपा पनि हुँदा एमालेको पल्ला भारी भएको हो।
वैशाख ०७९ मा सम्पन्न स्थानीय निर्वाचनमा एमालेले पाएको मत हेर्ने हो भने एमाले सत्ता गठबन्धनभन्दा करिब एक हजार मतले अगाडी छ। स्थानीय निर्वाचनको मत परिणामलाई तुलना गर्दा बाराको प्रदेशसभा १ (क) मा सत्ता गठबन्धनलाई जितको लागी निकै चुनौती छ।
एमालेका मधेश प्रदेश सदस्य समेत रहेका एकबहादुर क्षेष्ठले एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवर बनेका छन्।
एमालेका शिवनारायण थारुले पनि एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवर बनेका छन्। उनले आफू यस क्षेत्रको विकासको निम्ती रणनीतिक र योजनाबद्ध रुपमा आएको बताएका छन्।
सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार रमेश दंगाल पनि आफूले जित्ने पक्का रहेको बताइरहेका छन्। लामो समय काठमाडौंमा बसेर व्यापार गर्दै आएका दंगालले कांग्रेसभित्रैका शम्भुबहादुर बुढाथोकी र सुरेशकुमार खनालको दाबी गरिरहेको बारा–१ (क) को प्रदेश सभाको प्रत्यक्षतर्फको टिकट उम्काएका थिए। यहाँका मतदातासँग उनको खासै चिनजान समेत नरहेको आरोप छ। दंगाल कांग्रेससँगै रहेका सत्तारुढ गठबन्धनका माओवादी, एकीकृत समाजवादी र लोसपाका नेता–कार्यकर्ताको भरमा चुनावमा होम्मिएको छन्।
उनले आफुसँग विकासको माष्टर प्लान रहेको बताएका छन् तर माष्टर प्लानमा के के छन् त्यो भने उनले खुलाएका छैनन्। भुगोलबारे प्रष्ट जानकार नहुँदा उनी यस क्षेत्रका समस्याका बारेमा समेत जानकार छैनन्। केही समय अगाडी दंगाल अखाद्य तेल बिक्री वितरण गरेको भन्दै जिल्ला अदालत बाराको आदेशमा एक लाख धरौटी बुझाएर रिहा भएका थिए।
दंगालको सञ्चालक रहेको ईशा सप्लायर्सको गोदामबाट भारतीय कम्पनी ‘सदाबहार’ ब्रान्डको म्याद नाघेको रिफाइन सोयबिन तेल बरामद गरेपछि सञ्चालक दंगाललाई नियन्त्रणमा लिएर गोदाम घरमा पनि सिलबन्दी गरेको थियो। खाद्य प्रयोगशालाको रिपोर्टको आधारमा अखाद्य प्रमाणितपछि तेल नष्ट गरिएको थियो।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी शाह कलवार अर्का बलिया प्रतिस्पधिका रुपमा देखा परेका छन्। उनले उर्जाशिल समय बाराको विकास गर्न साथ दिन मतदातालाई आग्रह गरेको र मतदाताले समेत उनलाई साथ दिएमा धोका नदिने बताए।
यस्तै, एमालेका त्रिलोकीप्रसाद चौधरी अर्का बलिया प्रतिस्पर्धी हुन्। यसअगि समेत यस बारा–१ (क) मा विजयी भएका चौधरी पुनः जित हात पार्नेमा ढुक्क रहेको बताउँछन्। उनले शिक्षाका समस्याहरूलाई व्यवस्थापन गर्दै गुणस्तरीय शिक्षा बनाउन पूर्वाधार विकासमा प्राथमिकता दिँदै युवाहरू इमान्दर युवा सिपयुक्त र स्वास्थ्य सेवामा प्रतिबद्ध रहने बताए।
बाराको प्रदेशसभा १ (क) मा मुख्य प्रतिस्पर्धी दलको रुपमा एमाले र सत्ता गठबन्धन दल रहेका छन् तर अन्य दल र स्वतन्त्र उम्मेदवरका कारण यस क्षेत्रमा मा पाँच पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।
यस प्रदेशसभामा चार स्वतन्त्रसहित १० जना चुनावी मैदानमा रहेका छन्।