यी हुन् अष्ट्रेलियाका ज्यान जोखिममा पर्ने काम, एक वर्षमा १६९ जनाको काम गरिरहेको अवस्थामा मृत्यु
कार्तिक ३०, मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियाका सबैभन्दा खतरनाक कामहरू सार्वजनिक भएका छन्। पछिल्लो एक वर्षमा कार्यस्थलमा सबैभन्दा व्यक्तिहरूको मृत्यु भएका कामहरूबारे सरकारले रिपोर्ट सार्वजनिक गरेको छ।
कृषि, फरेस्ट्री तथा फिसिङमा सबैभन्दा धेरै मृत्युदर रेकर्ड भएको छ। सेफ वर्क अष्ट्रेलिया २०२१ को डाटाले यी क्षेत्रहरूमा प्रति १ लाखमा १०.४ प्रतिशत व्यक्तिको मृत्यु भएको देखाएको छ।
गत वर्ष काम गरिरहेको अवस्थामा अष्ट्रेलियाभर १६९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेका अधिकांश पुरूषहरू रहेका छन्। उक्त सरकारी रिपोर्टले कार्यस्थलमा मृत्यु हुने ९६ प्रतिशत पुरूष रहेको देखाएको छ। जम्मा ६ जना महिलाले कार्यस्थलमा नै ज्यान गुमाएका छन्।
५५ देखि ६४ वर्षका मानिसहरूले सबैभन्दा धेरै ज्यान गुमाएका छन्। उक्त उमेर समूहका ४३ जनाले काम गर्दागर्दै ज्यान गुमाएका छन्। ४५ देखि ५५वर्षका ३३ जनाले ज्यान गुमाउँदा ६५ वर्ष माथिका २९ जना मृत्युको शिकार भएका छन्।
सवारीसाधन ठोक्किएर सोही अवधीमा ६४ जनाको मृत्यु भएको छ। यो सबै मृत्युको ३८ प्रतिशत हो।
केही वस्तुहरूले लागेर २४ जनाको, लडेर वा खसेर १९ जनाको र माथिबाट खसेका सामग्रीहरूले लागेर १६ जनाको मृत्यु भएको छ। त्यस्तै, मेसीनमा च्यापिएर वा अड्किएर ६८ जनाको मृत्यु भएको छ।
त्यस्तै, ट्रान्सपोर्ट, अोसारपसार, बन्दरगाह र खानी तथा निर्माण क्षेत्र पनि मानिसको उच्च मृत्यु रहेको रिपोर्टमा उल्लेख छ।
राज्यगत हिसाबमा न्यु साउथ वेल्समा काम गर्दागर्दै सबैभन्दा धेरै व्यक्तिले ज्यान गुमाएका छन्। गत वर्ष न्यु साउथ वेल्समा ४६, क्विन्सल्याण्डमा ४३, भिक्टोरियामा ३४ जनाको कार्यस्थलमा मृत्यु भएको थियो।
अष्ट्रेलियामा सन् २००७ मा एकै वर्ष काम गर्दागर्दै सबैभन्दा धेरै कामदारको मृत्य भएको थियो। उक्त वर्ष ३१० जनाको मृत्यु भएको थियो भने पछिल्लो १० वर्षमा यो संख्यामा ३५ प्रतिशतले कमी अाएको छ।
२०२१ मा १ लाख ३० हजार १९५ जना कामदारले क्षतिपूर्तिको माग गरेको पाइएको छ। त्यसरी क्षतिपूर्ति दाबी गर्नेहरूले समग्रमा प्रति माग ५५ हजार २७० डलर क्षतिपूर्ति पाएको पनि देखिएको छ।